जर्मनीलाई हराउँदै स्विडेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा

 असार १५, २०७६ आइतबार ७:३५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

दुईपटकको च्याम्पियन जर्मनीलाई स्तब्ध तुल्याउँदै स्विडेनले फ्रान्समा जारी महिला विश्वकप फुटबलको अन्तिम चारमा स्थान बनाएको छ ।

चार वर्षअघि प्रिक्वार्टरफाइनल चरणमा ब्यहोरेको पराजयको बदला लिँदै स्विडेनले फ्रान्सेली शहर ल्याेनको रोहजोन पार्कमा भएको खेलमा जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलमा अग्रता जर्मनीले लिएको थियो । १६ औं मिनेटमा सारा डाब्रिट्जको पासमा मागुलले गोल गरेकी थिइन् ।तर उसको अग्रता धेरैबेर टिक्न पाएन । लिन्डा सेम्ब्रान्टको पासमा सोफिया जाकोब्सनले २२ औं मिनेटमा गोल गरेपछि स्विडेनले खेल बराबरीमा ल्यायो ।

दोस्रो हाफको सुरुमै स्विडेनले अग्रता बनायो । स्टिना ब्ल्याक्स्टेनियसले ४८ औं मिनेटमा गोल गरेकी हुन् ।

खेलको अन्त्यतिर जर्मनीले गोलको निकै प्रयास गरेको थियो । तर, स्विडिस रक्षापंक्ति र विशेष गरी गोलरक्षक हेदभिग लिन्दालले उत्कृष्ट बचाउ गरेकी थिइन् ।

फाइनल प्रवेशका लागि स्विडेनले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । इटलीलाई २–० ले पराजित गरी नेदरल्याण्ड्स ऐतिहासिक रुपमा पहिलोपल्ट विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

अर्को सेमिफाइनल भने इंग्ल्यान्ड र साविक विजेता अमेरिकाबीच हुनेछ । क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वे र अमेरिकाले घरेलु टोली फ्रान्सलाई पराजित गरेका थिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया