लाङटाङ म्याराथनमा भाट र राई प्रथम

 जेठ ५, २०७५ शनिबार २०:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा, जेठ ५ – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सञ्चालन गरेको ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’ को पुरुषतर्फको उपाधि नेपाली सेनाका खगेन्द्रबहादुर भाटले हात पारेका छन् ।

क्यान्जिन गुम्बादेखि स्याफ्रुबेँशीसम्म ४२.१९५ किलोमिटर दूरी तीन घण्टा ४९ मिनेट २७ सेकेण्डमा पार गर्दै शिव दल गण बर्दियाका भाटले उपाधि जितेका हुन् । चार घण्टा ६ मिनेट १८ सेकेण्डमा दूरी पार गर्दै आर्मीको नारायण दल गणका भरत खत्री दोस्रो र चार घण्टा ७ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्दै नारायण दल गणकै सुवास कार्की तेस्रो भएका छन् ।

महिलातर्फ चार घण्टा ५७ मिनेट १३ सेकेण्डमा दूरी पार गर्दै निर्कला कुलुङ राई पहिलो, पाँच घण्टा २६ मिनेट १९ सेकेण्डमा पूर्णिमाया राई दोस्रो र पाँच घण्टा ५२ मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गर्दै त्रिभुवन आर्मी क्लवकी सरिता बासी तेस्रो भएकी छिन् ।

म्याराथनमा पहिलो हुनेले एक लाख पाँच हजार, दोस्रो हुनेले ७८ हजार ७५० र तेस्रो हुने विजेताले  ५२ हजार ५०० सहित पदक र प्रमाणपत्र पाएका छन् । म्याराथनमा ५३ जनाले भाग लिएका थिए ।

क्याङजिङ गुम्बादेखि म्याराथन सुरु शुरु भई घोडातबेला, शेर्पागाउँ, खान्जिम हुँदै स्याफ्रुबेँसीमा पुगेर टुंगिएका थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया