दुई सरकारी कार्यालयबीच समन्वय नहुँदा होलेरी–स्वर्गद्वारी सडक स्तरोन्नतिको काम अलपत्र

 असार १६, २०७६ सोमबार १६:३२:४७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – सडक डिभिजन कार्यालय र डिभिजन वन कार्यालयबीच समन्वय हुन नसक्दा रोल्पाको होलेरी–स्वर्गद्वारी सडक स्तरोन्नति गर्ने काम अलपत्र परेको छ । 

सडक चौडा गर्दा वन फँडानी भएको भन्दै डिभिजन वन कार्यालय रोल्पाले मुद्दा हालेपछि सडक स्तरोन्नतिको काम रोकिएको हो । सडक डिभिजन कार्यालय प्यूठानले वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी काम सुरु गरेको वन कार्यालयको आरोप छ ।

सडक डिभिजनले भने रुख काट्ने सहमति भएपछि मात्र काम सुरु गरेको बताउँदै आएको छ । दुई सरकारी कार्यालयको विवादका कारण सडक स्तरोन्नति गर्ने काम रोकिँदा पवित्र तीर्थस्थल स्वर्गद्वारी जाने तीर्थयात्रीलाई सास्ती भोग्नु परेको छ भने दैनिक रुपमा सञ्चालन हुने यातायातका साधन आवतजावतमा पनि समस्या भएको छ । 

एउटा सरकारी कार्यालयले गरेको काममा अर्काे सरकारी कार्यालयबाटै अवरोध हुँदा स्थानीयले सास्ती भोग्नु परेको रुन्टीगढी गाउँपालिका–५ का वडाध्यक्ष यामबहादुर दशौदीको गुनासो छ ।

‘एउटा सरकारी कार्यालयले सुरु गरेको काम अर्काे सरकारी कार्यालयले रोक्नु यहाँका स्थानीयका लागि दुर्भाग्यपूर्ण बनेको छ’, दशौंदीले भन्नुभयो, ‘वर्षायाममा हिलो र हिउँदमा धुलोले स्थानीय हैरान भएका छन् ।’ स्थानीयको मागलाई नबुझेर वन कार्यालयले मुद्दा हालेपछि सास्ती खेप्नु परेको उहाँको भनाइ छ ।

५ किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने जिम्मा लोहनीबरदेवी रानीबन जेभी कम्पनीले पाएको थियो । साढे ५ करोडको लागतमा यो सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने काम गएको चैतमा नै सक्ने योजना थियो, तर कार्तिकमा नै मुद्दा परेपछि काम ठप्प भएको हो ।

दुई कार्यालयबीच समन्वय गरी सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्नुपर्ने स्थानीयको माग छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया