सामुदायिक विद्यालयमा विद्यार्थी नआउँदा सकस: ३ कक्षामा ३ विद्यार्थी

 असार १८, २०७६ बुधबार १५:३७:४४ | नेत्र शाही
unn.prixa.net

जुम्ला - सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै नसकिने धेरै उदाहरण छन् । तर यहाँका केही सामुदायिक विद्यालयमा विद्यार्थी अभावमा शिक्षकनैे दिनभर बसेर घर फर्किन्छन् ।

जुम्ला सदरमुकामको बालमन्दिर नजिकै रहेको श्री आधारभूत विद्यालय बालमन्दिरमा सरकारले १ देखि ३ कक्षासम्म विद्यालयको स्वीकृति दिएको छ । तर विद्यार्थी नै भर्ना हुन कम आउने र आएका पनि छोड्ने दर बढेकाले विद्यालय सकसमा रहेको छ ।

याे शैक्षिक सत्रमा विद्यालयमा कक्षा एकमा १३ जना, कक्षा २ मा ६ जना र कक्षा ३ मा ३ जना विद्यार्थी भर्ना भएका प्रधानाध्यापक पार्वती पौडेलले जानकारी दिनुभयो । यसैगरी पूर्व बालविकास ईसीडीमा भने २८ जना विद्यार्थी भर्ना भएका छन् । ईसीडी राम्रो सञ्चालन भएको तर १ देखि ३ सम्म विद्यार्थीनै भर्ना हुन निकै कम आउने विद्यालयले जनाएको छ । 

यसैगरी सदरमुकामकै टुँडिखेलको माथिल्लो गेटमा रहेको श्री अशोक आधारभूत विद्यालयको विद्यार्थी भर्ना नहुने र छोडने समस्या झन् चर्काे छ । विद्यालयको रेकर्डमा ७१ विद्यार्थी छन् तर सोमबार पत्रकारहरु समाचार संकलन गर्न जाँदा जम्मा ३ जना विद्यार्थी मात्रै उपस्थित भएका थिए । कक्षा ५ का छात्रा १, कक्षा २ का छात्रा र ईसीडीका १ जना एकै कक्षामा थिए ।

३ जना विद्यार्थी रहेको कक्षामा एक जना शिक्षिका हुनुहुन्थ्यो भने अरु सबै शिक्षक विद्यालयको कार्यालय कोठामा हुनुहुन्थ्यो ।  निजी विद्यालयहरुमा पढाउनु पर्छ भन्ने अभिभावकको सोचले सरकारीमा भर्नै नहुने र आएपछि छोड्ने दर बढेको प्रधानाध्यापक भगवती श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पटक पटक अरु विद्यालयसँग मर्ज गरौँ भनेर बैठक भए तर सुनुवाइ नहुँदा समस्या भएको छ । विद्यार्थी नहुँदा हामी विद्यालयमा त्यसै बस्नु परेको एक शिक्षिकाले गुनासो पोखिन ।

दलित विद्यार्थीले धानेको विद्यालय

चन्दननाथ नगरपालिका वडा नं ४ मा रहेको उक्त अशोक प्रावि आधारभुत  विद्यालयमा दलित, गरिव र जेहेन्दार विद्यार्थीहरु भने भर्ना हुने गरेका छन् । नगरपालिकाको वडा नं ४ अन्तरगतको सिंगाचौरमा रहेका दलित बस्तिका धेरैजसो विद्यार्थीले यो विद्यालय धानेको छ । जम्मा भर्ना भएका ७१ विद्यार्थीमध्ये ५७ जना दलित विद्यार्थी रहेका विद्यालयले जानकारी दिएको छ  । जसमा २६ दलित छात्र र ३१ दलित छात्रा रहेका छन् ।

‘कापी, कलमलगायतमा सामग्री दिन्छौँ तर विद्यार्थी भर्ना हुँदैनन्’, प्रअ श्रेष्ठले थप्नुभयो । यसैगरी भर्ना अभियानमा पनि व्यापक सूचना तथा घरदैलो गरे पनि विद्यार्थी नआउने र सरोकारवाला निकायले यसमा गम्भीर भएर सोच्नुपर्ने विद्यालयको भनाइ छ । 

सो अशोक आधारभुत विद्यालयमा शिक्षक भने प्रा.वि. दरवन्दीका ५ जना र ईसीडी एक जना गरी ६ जना रहेका प्रअ श्रेष्ठले जानकारी दिनुभयो । यता आधारभुत विद्यालयमा भने प्रावि दरवन्दीका दुई शिक्षक र एक आन्तरिक शिक्षक रहेको प्रधान अध्यापक पार्वति पौडेलले जानकारी दिनुभयो । शिक्षककै छोराछोरी बाेर्डिङमा पढाउने गरेकाे र जथाभावी निजी स्कुल खोलेकाले विद्यालयमा विद्यार्थी घटेका उहाँको भनाइ छ । 

तीन कक्षामा तीन विद्यार्थी

आधारभूत विद्यालय बालमन्दिरमा भने  कक्षा तीनमा सर्मिला रावल, जयलक्ष्मी बाेहरा र अस्मिता सुनार गरी ३ विद्यार्थी छन् ।

सदरमुकाममै यस्तो समस्या भए पनि सरोकारवाला निकायहरु मौन रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ, नगरपालिकाले पनि यो विषयमा चासाे नदिँदा यी विद्यालयहरुले समस्या भाेग्दै आएका छन् ।

स्थानीय रामसिंह रावलले जुम्ला सदरमुकाममै यो समस्या भएपनि सरोकारवाला निकायहरु र पत्रकारहरु मौन भएको आक्रोस पोख्नुभयाे । चन्दननाथ नगरपालिकाले भने मर्ज गर्नका  लागि कार्यदल बनाइसकिएको बताएको छ ।

मेयर कान्तिका सेजुवालले यसको चाँडै टुङ्गो लाग्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा नगरपालिकामा एक उपसचिव, एक विद्यालय निरीक्षक र एक प्राविधिक सहायकको दरबन्दी भए पनि कोही आउन नमानेकाले शिक्षा क्षेत्र व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो ।  

यता शिक्षा विकास तथा समन्वय इकाइले आफ्नो भूमिका कम भएको बताउँदै यो विषय सरोकारवालाहरुले चाँडै टुङ्ग्याउन आवश्यक रहेको बताएकाे छ । 


 
 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया