एउटा सचिवको भरमा सिङ्गाे गाउँपालिका

 असार २४, २०७५ आइतबार ९:५८:२१ | रासस
unn.prixa.net

जाजरकोट –  एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आउनुभएको छ । 

स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौ वटै वडाको कामकाज गर्दै आउनुभएको छ । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । तर नौ वटा वडाको जिम्मेवारी एक्लैले कसरी सम्भव छ र ! उहाँले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर नौवटै वडाको जिम्मेवारी सम्हालिरहनुभएको छ । 

स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ मा वडा सचिवलाई पञ्जिकाधिकारी तोकेको छ । वडा सचिवको हस्ताक्षरविना जन्मदर्ता, मृत्युदर्ता र बसाइँसराइको काजगात बन्न सक्दैन । तर वडा सचिव खनाल सदरमुकाममै भए पनि गाउँपालिकाको पञ्चिकरणको काम भने रोकिएको छैन । 

वडा सचिव खनालले नागरिकतालगायतका सिफारिशमा सदरमुकामबाट अग्रिम (ब्ल्यांक) हस्ताक्षर गरेर गाउँ पठाइदिन्छन् । त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ । जन्मदर्ता, विवाह दर्ता, मृत्यु, बसाइँसराइ, नाता प्रमाणित, लक्षित वर्गको सिफारिश पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र त्यहाँ रहेका तत्कालीन प्रशासन सहायक, सामाजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताउनुभयो । 

उहाँले बारम्बार माग गर्दा पनि सरकारले वडा सचिव नपठाउँदा समस्या भएको बताउनुभयो । “के गर्ने काम चलाउनै पर्‍याे । सचिव एक जनामात्र छन् । गाउँमा बसे पनि कुन वडामा गएर काम गर भन्ने । भौगोलिक विकटताले एक वडाबाट अर्को वडा पुग्न एक दिन पैदल हिँड्नुको विकल्प छैन । साह्रै समस्या भएपछि यस्तो उपाय निकालेका हौँ”, उहाँले भन्नुभयो । सेवाग्राहीलाई दुःख दिनुभन्दा केही समय यसरी चलाऔँ भनेर जनताको काममा बाधा नपुग्ने गरी सदरमुकामबाटै काम गरिरहेको उहाँले बताउनुभयो ।

वडा सचिवमात्र होइन कार्यकारी प्रमुख र गाउँपालिका प्रमुख तथा उपप्रमुख पनि सदरमुकाममै बस्ने गरेका छन् । सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको यो गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारसमेत सदरमुकाममै हुने हुँदा सेवाग्राही सामान्य कामका लागि पनि सदरमुकाम धाउन बाध्य छन् ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया