भिजिट भिसामा यूएई जान दूतावासको सिफारिस पत्र आवश्यक पर्दैन: अध्यागमन महानिर्देशक पौडेल

 असार ३०, २०७६ सोमबार १७:५९:१४ | उमाकान्त पाण्डे

यूएई - भिजिट भिसामा यूएई आउन दूतावासको सिफारिस पत्र आवश्यक नपर्ने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताउनु भएको छ ।

अबदेखि भिजिट भिसामा यूएई जानेहरुको अध्यागमन आफैंले कागजात हेरेर पठाउने भएपछि दूतावासले सिफारिस गर्न नपर्ने भन्दै यो रोक्न विभागले परराष्ट्र तथा गृहलाई पत्राचार गरिएको पौडेलले बताउनुभयो ।

त्यही पत्रका आधारमा यूएई भ्रमणमा आफन्तजन ल्याउँदा नेपाली दूतावास आबुधाबीले अध्यागमन विभागलाई सिफारिस गर्दै आएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) सोमबारदेखि बन्द गरेको छ ।

भिजिट भिसाको सिफारिसमा अनियमितता भएको र भिजिट भिसाको प्रयोग गरेर मानव तस्कर तथा सुन तस्करी भैरहेको अनुसन्धानबाट खुलेकोले सरकारका विभिन्न निकायको समन्वयमा यो निर्णय गरेको महानिर्देशक पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

'मानव तस्करी गर्ने गिरोहले दूतावासका कागजात नक्कली बनाउने र भिजिट भिसामा तस्करी गरेको पायौं त्यसैले तस्करी रोक्न राम्रो नियत राखेर हामीले यस्तो निर्णय गरेका हौ´ पौडेलले भन्नुभयो । दूतावासले सकारात्मक प्रयोजनका लागि यो निर्णय गरेको हो ।

'एक दुई दिनमा आबुधाबी दूतावासको सूचनालाई सहयोग मिल्ने गरी अध्यागमन विभाग आफैंले पनि अर्को सूचना जारी गरेर सबैलाई जानकारी गराउने छ' पौडेलले उज्यालोसँग टेलिफोनमा बताउनुभयो ।

परदेशमा कोही बिरामी भएर अस्पतालमा सुसारेको रुपमा जानु परे, सुत्केरी स्याहार सुसार गर्नुपरे वा अन्य कुनै व्यापार-व्यवसाय प्रयोजन तथा घुम्नकै लागि जाने नेपालीका लागि अध्यागमनले नरोक्ने पौडेलको भनाइ छ ।

दलालले मोटो रकम लिएर भिजिट भिसामा पठाउने क्रम बढेकाले सम्बन्धित व्यक्तिले अध्यागमनको वेबसाइटमा राखिएका आवश्यक कागजात देखाएर विदेश जानसक्ने उहाँले बताउनुभयो । 'आवश्यक परे र कागजात नक्कली भएको पाईए यात्रा अनुमति दिने नदिने अध्यागमनले निर्णय गर्ने पनि पौडेलको भनाइ छ ।

कागजात नभए वा यात्रा गर्न समस्या पर्ने महसुस भए आफन्तजन आफैं नेपाल आएर परिवारका सदस्य साथमा लैजान सकिने पनि पौडेलले बताउनुभयो । त्यसो गर्दा दोहोरो खर्च बढ्न सक्ने भन्ने विषयमा आफ्नो परिवारसँग खर्च जोड्न नहुने उहाँको भनाइ छ ।

अध्यागमनमा कोही रोकिए म आफैंले सिफारिस पत्र बनाउने छु : राजदूत ढकाल

नेपाल सरकारका माथिल्ला निकायहरु परराष्ट्र, गृह र अध्यागमनको समन्वयमा दूतावासले आइतबार सूचना निकालेर सोमबारदेखि सिफारिस बन्द गर्ने निर्णय गरेको बताउँदै यूएईका लागि राजदूत कृष्णप्रसाद ढकालले बिना कारण अध्यागमनमा कोही नेपालीका परिवार नरोकिने बताउनुभयो ।

अध्यागमनका महानिर्देशक ईश्वरराज पौडेलले लिखित र मौखिक रुपमा दूतावासलाई पत्राचार गरेको भन्दै कोही कसैलाई समस्या परे आफू स्वयमले सिफारिस पत्र बनाउने बताउनुभयो ।

नेपालको प्रचलित कानुन बमोजिम प्रकृया पूरा गरेर व्यक्ति सक्षम भए प्रतिवन्धित देश बाहेक जुनसुकै देश पनि जान पाउने अधिकारको प्रत्याभूति राहदानीको पृष्‍ठ ३ मा स्पष्ट उल्लेख गरेको कुरा स्मरण गर्दै सिफारिस पत्रमार्फत नेपालीको अनावश्यक समय र पैसा खर्च भ‌रहेको तथा परिस्थितीले यो निर्णय गर्न बाध्य भएको राजदूत ढकालले बताउनुभयो ।

भिजिट भिसामा यूएई आउने र प्रतिवन्धित देश इराक,अफगानिस्तान जाने नेपालीको सँख्या बढेका कारण नेपालको अध्यागमनले कडाइ गरेपछि सन् २००७ देखि नेपाली दूतावास आबुधाबीले आफन्तजन यूएई ल्याउँदा सम्बन्धित व्यक्तिको निवेदनका आधारमा अध्यागमन विभागलाई सिफारिस पत्र लेख्ने गरेको थियो ।

यहाँ रहेकाहरुले नजिकका ८ वटा नाता सम्बन्ध श्रीमान, श्रीमती, आमाबुबा सासु, ससुरा र छोराछोरीलाई यूएई ल्याउँदा दूतावासले पत्र जारी गर्ने गरेको थियो । त्यही पत्रका आधारमा अध्यागमनले बिना रोकतोक पठाउने गरेको थियो ।

दूतावासले आइतबार जारी गरेको सूचनाले धेरै नेपाली अन्यौलमा परेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ । तर दूतावास र अध्यागमनले आम नागरिकलाई सहयोग पुग्ने गरी निर्णय गरेको दावी गरेका छन् ।

अन्तिम अपडेट: चैत ५, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

2 Comments

  • Sanjib Giri

    July 18, 2019, 6:15 p.m.

    के के डकुमेन्ट चाहिन्छ भिजिट भीसामा यु ए इ जान ? म संग एक महिनाको भिजिट भीसा बाँकी नै छ मेरो साथीले पठाएको /

  •  0 Reply
  • Govinda shrestha

    July 15, 2019, 9:42 p.m.

    मेरो एउटा प्रश्न छ - म अब क्यान्सिल गर्न लागेको छु , अब फेरि ५ -६ महिना भित्र फेरि ३ महिनाको भिजिट भिसामा आउन सकिएला कि नसकिएला ?

  •  0 Reply

तपाईको प्रतिक्रिया