बेचबिखनको जोखिममा परेर फर्केका किशोरी तालीमबाट बने स्वरोजगार

 साउन २, २०७६ बिहिबार १९:२६:४८ | रासस

कञ्चनपुर – कञ्चनपुरका जोखिमबाट फर्केका र पर्नसक्ने अवस्थाका २४ जना किशोरी व्यावसायिक तालीम लिएर स्वरोजगार भएका छन् ।

माइती नेपालले जोखिममा परेका किशोरीलाई व्यावसायिक तालीम दिई स्वरोजगार बनाएको हो । बेचबिखनको जोखिममा परेर फर्केका र जोखिममा पर्नसक्ने किशोरीलाई ‘एडभान्स सिलाइकटाइ’ र होटेल मेनेजमेण्ट तालीम दिएर स्वरोजगार बनाइएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

एक जना किशोरीलाई सिलाइकटाइ र अन्य २३ जनालाई होटेल मेनेजमेण्ट तालीम दिइएको उहाँले बताउनुभयो । सिलाइकटाइ तालीम पाएका बेलौरीका किशोरीले घरमै पसल राखेर कार्य गरिरहेको र होटेल मेनेजमेण्ट तालीम लिएका पोखरा, चितवन, काठमाडौँ लगायतका होटेलमा वेटरदेखि कुकका रुपमा कार्यरत रहेको उहाँको भनाइ छ ।

सिलाइकटाइको व्यावसायिक कार्यमा लागेका किशोरीलाई सिलाइ मेशिनसहित आवश्यक सामग्री माइती नेपालका तर्फबाट उपलब्ध गराइएको छ ।

‘जोखिमबाट फर्केका दुई जना किशोरीलाई हेल्थ असिस्टेण्ट र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति दिइएका छौँ,’ उहाँले भन्नुभयो, ‘पढाइको सबै खर्च संस्थाले व्यहोर्ने व्यवस्था गरेको छ ।’

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया