अफ्रिकी देश केन्यामा पक्राउ परेका १२ जना नेपाली महिलाको उद्धार

 साउन ३, २०७६ शुक्रबार १७:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी देश केन्यामा पुगेका १२ जना नेपाली महिलाहरुलाई नेपाल प्रहरीले उद्धार गरेकाे छ ।

ती महिलाहरु केन्यामा पक्राउ परेको भन्ने विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत समाचार फैलिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो,बबरमहलले ती महिलालाहरुकाे उद्धार गरेकाे हाे ।

केन्यास्थित गैरआवसीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास, 'डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन', केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको हो ।

उनीहरु विभिन्न मितिमा भारत हुँदै केन्या पुगेको खुल्न आएको र केन्याको मुम्बासा शहरस्थित रङगीला डान्सबारमा केन्या प्रहरीले छापा मारी बारसञ्चालक लगायत महिलाहरुलाई पक्राउ गरेको अवस्थामा उद्धार गरी नेपाल फर्काइएकाे थियाे ।

प्रारम्भिक अनुसन्धान पश्चात अन्तर्राष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रोहबरमा उनीहरुका आफन्तलाई शुक्रबार जिम्मा लगाइएको र यस सम्बन्धमा अन्य थप अनुसन्धान कार्य जारी रहेको नेपाल प्रहरीकाे मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया