धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
शनिबार साथीलाई भेट्न कोटेश्वर जानुपर्ने भएकाले नयाँ बसपार्कबाट बस चढें । बसको झ्यालतिर बसेर सडकमा गुडेका गाडीलाई नियाल्ने मेरो बानी छ । शनिबार बस चढेपछि पनि झ्यालतिरै बसेर बाहिर नियाल्दै थिएँ ।
बस बसुन्धारा चोक नजिकै तिलिंगेटारमा रोकियो । त्यहीबेला मेरो आँखा एउटा दृश्यमा अडियो । ३०/३५ वर्षका एकजना मान्छे सडक छेउमा लमतन्न पल्टिएका थिए । उनको साथमा साना छोराछोरी पनि थिए । उनीहरु पनि बाबुसँगै सडक छेउमा निदाएका थिए ।
सानो छोरालाई पल्टिरहेका बाबुको खुट्टाले अँठ्याएको थियो । सानी छोरी बाबुकै हात समातेर निदाइरहेकी थिइन् । म एकोहोरो त्यो दृश्य हेर्दै थिएँ, बस गुड्न थाल्यो । तर मलाई भने त्यो दृश्यले तानिरह्यो । मलाई अगाडि बढ्न मन लागेन ।बस रोक्न भनें र ओर्लिएँ । अनि त्यो दृश्य भएतिर लागें ।
नजिकै महानगरीय प्रहरी प्रभाग, बसुन्धराको कार्यालय छ । सडकमा लडेका मान्छेको शरीरबाट रक्सीको गन्ध आइरहेको छ । गाडीको हर्न र सडक छेउमा हिँड्ने बटुवाको चहलपहलले पनि उनको निद्रा खुलेको छैन ।
वरपर मान्छेको भिड बढ्दै गयो । प्रहरीको टोली पनि आइपुग्यो । रक्सीले मातेका बाबुसँगै पल्टिरहेकी सानी नानी बिउँझिइन् । आँखाभरी आँसु पार्दै उनले एकै शब्दमा पुकारिन् ‘आमा !’
बालिकाले सबैतिर आँसु भरिएका आँखाले हेरिन् । तीन वर्षकी ती बालिकालाई मैले सोधें, ‘सुतिरहेको मान्छे को हो ?’ उनले रुँदै भनिन्, ‘मेरा बाबा ।’ अनि बावुले खुट्टाले अँठ्याएर राखेको चाहिँ आफ्नो भाइ भएको बताइन् ।
प्रहरीले बालकलाई काखमा लिए । अनि रक्सीले बेहोस भएर सडकमा पल्टिरहेका बावुको टाउकोमा पानी खन्याइदिए । त्यसपछि बल्ल उनको होस आयो । तर उनी राम्ररी बोल्न पनि सक्दैनथिए ।
उनले लर्बराएको स्वरमा प्रहरीलाई आफ्नो छोरा दिनुस् भने, तर प्रहरीले मानेन । आफै होसमा नभएको मान्छेले सानो छोरालाई समातेर लडाउनसक्छ भनेर त्यहाँ जम्मा भएका मान्छेले बच्चा उनलाई नदिन भने ।
त्यहाँ हेर्न आएका कसैले बालबालिकालाई बिस्कुट र फ्रुटी किनेर दिए । खानेकुरा खाएपछि उनीहरुको आँखा ओभानो भयो । रक्सीले होस गुमाएका उनीहरुका बावुलाई पनि रक्सीको नशाले छोड्दै गयो ।
होसमा आएपछि उनले आफ्नो घर कालिकोट भएको र भक्तपुर बालकोटमा बस्दै आएको बताए । उनले आफ्नो नाम नवराज सिंह भएको र घर बनाउने ज्यामी काम गर्ने गरेको बताउँदै थपे ‘टेन्सन भयो, अनि रक्सी खाएँ ।’
उनकाअनुसार तीन दिनअघि माइलो छोराले झुक्किएर उपियाँ मार्ने विष पिए । कान्ति बाल अस्पतालमा भर्ना भएका उनको आज डिस्चार्ज गर्नुपर्ने रहेछ । बिहानै श्रीमतीसँग सामान्य कुरामा भनाभन भएपछि रीसको झोेंकमा उनी माइलो छोरालाई लिएर घर गइन् । श्रीमती रिसाएर हिँडेपछि आफू पनि काखे छोरा र छोरी लिएर घरै जान हिँडेको, तर टेन्सन भएपछि रक्सी पिएको उनले बताए ।
‘छोरीले मोबाइल पनि ट्वाइलेटमा खसालेर बिगारी, श्रीमतीलाई कसरी फोन गर्ने होला’ उनले हात जोड्दै भने ‘गल्ती भइहाल्यो दाइ, अबदेखि यस्तो कहिल्यै गर्दैन । मलाई बालकोटको गाडीमा चढाइदिनुस्, म गइहाल्छु ।’
एकछिन त प्रहरीले मानेन । तर त्यहाँ भएका सबैले रक्सीले छोडेकाले अब पठाइदिए हुन्छ भने । त्यसपछि प्रहरीको सहमतिमा त्यहाँ पुगेका स्थानीय रबि जोशीले गाडीको भाडा बसको सहचालकलाई दिएर बालकोट झारिदिनु भनेर पठाए । जानेबेला सानी नानीले सबैलाई धन्यवादका नजरले हेर्दै थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।
शपन कुमार एन्जिल
July 9, 2018, 10:32 a.m.कस्तो मन नै चसक्क पार्ने खाल्को लेख र घटना