काम नगर्ने ठेकेदार र कर्मचारीलाई कारबाही गर्न प्रदेश ३ का अर्थमन्त्रीको निर्देशन

 साउन ७, २०७६ मंगलबार २०:५७:४३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले काम नगर्ने ठेकेदार र कर्मचारीलाई कडा कारबाही गर्न प्रमुख जिल्ला अधिकारी लाई निर्देशन दिनुभएकाे छ। 

कतिपय विकास निर्माणका कामहरु ठेकेदारकै कारण रोकिएको र कर्मचारीले पनि विभिन्न बहाना बनाएर काममा ढिलाइ गरिरहेको भन्दै समयमा काम नगर्ने कर्मचारी र ठेकेदारलाई तत्काल कारबाही गर्न उहाँले यस्ताे निर्देशन दिनुभएकाे हाे ।

मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा आयोजना गरेको सार्वजनिक सुनुवाई एवं सेवा प्रवाहसम्बन्धी राय सल्लाह सुझाव संकलन कार्यक्रममा उहाँले समयमा काम सम्पन्न नगर्ने कर्मचारीलाई तत्काल राजीनामा दिएर जिल्ला छाड्न आग्रह पनि गर्नुभयाे।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले डिभिजन सडक कार्यालय खुर्कोट लगायत कतिपय प्रदेश सरकारका कार्यालयले आफनो बजेट र कार्यक्रमका बारेमा  मन्थली नगरपालिकालाई कुनै पनि जानकारी नगराएको गुनासाे गर्नुभयाे ।   

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ नम्बर प्रदेका सांसद शान्तिप्रसाद पौडेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, पूर्व सांसद देवशंकर पौडेललगायत जिल्लाको विकास निर्माणबारे आआफ्नो धारणा राख्नुभएकाे थियाे । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया