गण्डकी प्रदेश : उपमेयर र उपाध्यक्षलाई पनि गाडी, सुविधाको चाङ

 साउन ८, २०७६ बुधबार २०:२८:४० | सुमन गुरुङ
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका पालिकाका उपमेयर र उपाध्यक्षले पनि गाडी सुविधा पाउने भएका छन् । 

गएको असार २५ गते बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले जनप्रतिनिधिको सेवा सुविधा बढाउने निर्णय गरेको हो । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनलाई संशोधन गरी उपाध्यक्ष तथा उममेयरलाई पनि गाडी उपलब्ध गराउन लागिएको हो । 

मन्त्रिपरिषदको बैठकले जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने र कार्यपालिका सदस्यले पनि वडाध्यक्षकै बराबर हुने गरी सुविधा पाउने निर्णय पनि गरेको थियो ।

ऐन संशोधनपछि गण्डकी प्रदेशका ११ जिल्लाका ८५ ओटै पालिकाका उपप्रमुखले गाडी चढ्न पाउनेछन् । अबदेखि सरकारी सेवाबाट निवृत्त भइ पेन्सन खाइरहेका जनप्रतिनिधिले पनि दोहोरो सुविधा पाउने व्यवस्था गर्न लागिएको छ ।

दोहोरो सुविधा र उपमेयर तथा उपाध्यक्षले गाडी सुविधा पाउने ऐन संशोधन गर्ने निर्णयपछि संसद सचिवालयमा दर्ता भएको छ । सदनबाट पारित भएपछि यो व्यवस्था लागू हुनेछ । 

कार्यपालिका सदस्यले पनि वडाध्यक्षकै बराबर हुने गरी सुविधा पाउने निर्णय सदनबाट पारित भए महानगर कार्यपालिकाका सदस्यको सुविधा वृद्धि भएर वडाध्यक्षकै बराबर २५ हजार रुपैयाँ पुग्नेछ । सुविधा सम्बन्धी ऐन सदनबाट पारित भएर लागुभए महानगरका वडा सदस्यले पाउँदै आएको ८ हजार ३ सय ५० रुपैयाँ बढेर १२ हजार ५ सय रुपैयाँ पुग्ने छ । 

नगरपालिकाको कार्यपालिका सदस्यले वडाध्यक्षकै बराबरी २० हजार रुपैयाँ पाउने सुविधा प्राप्त गर्नेछ । वडा सदस्यले भने अब १० हजार रुपैयाँ पाउने छन् । गाउँ कार्यपालिका सदस्यले वडाध्यक्षकै बराबरी १८ हजार रुपैयाँ सुविधा पाउने छन् भने ६ हजार रुपैयाँ खाइपाई आएका वडा सदस्यले ९ हजार रुपैयाँ बराबर सुविधा पाउनेछन् । 

गण्डकी प्रदेशका सांसददेखि मन्त्रीसम्मलाई नायब सुब्बासरहको स्वकीय सचिवको सुविधा दिने निर्णय पनि त्यही बैठकले गरेको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया