धनगढीबाट नक्कली नोट र मेसिनसहित चार जना पक्राउ

 साउन २४, २०७६ शुक्रबार १४:६:२७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोट बनाउने मेसिनसहित ४ जनालाई  धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खगेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।

तीन जनालाई  धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सीआईबीको टोलीको सहयोगमा काठमाण्डौबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो । उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरिएको छ।

उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ थान नोट, पाँच सयकै भारतीय ८६ थान नोट, भारतीय पाँच सय दरको पछाडिको भाग छापिएको ४ नोट बरामद गरिएको छ ।

यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० नोट, पछाडिको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडिको भाग छापिएको १२ नोटसहित स्टीलको दराजमा राखिएको एक हजार दरका ६८ नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो । नक्कली नोटसहित पक्राउ परेका थप तीन जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ । 

नक्कली नोटसहित पक्राउ परेका कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी र अवैध भारतीय रुपैयाँसहित पक्राउ परेका भारतको लखिमपुर खिरी बस्ने श्रवणकुमार सिंह र त्यही ठाउँका गुरुजीत सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया