सर्लाहीका बाढी पीडित भन्छन् : पाउनु-खानु केही छैन, हेर्नेको लर्को मात्र लागेको छ

 साउन २६, २०७६ आइतबार १२:५२:५४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – बाढी गएकाे एक महिना बितिसक्दा पनि सर्लाहीका बाढी तथा डुबान प्रभावित परिवारले अहिलेसम्म कुनै सरकारी राहत पाउन सकेका छैनन् । 

बाढी तथा डुबान प्रभावित क्षेत्रको मन्त्री, राजनीतिक दलका नेता, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीलगायतले अनुगमन गरे पनि पीडित परिवारले अहिलेसम्म कुनै आर्थिक सहायता तथा राहत पाउन सकेका छैनन् । 

गएको असार २५, २६ र २७ गतेको निरन्तर वर्षापछि आएको बाढीले सर्लाहीमा घर भत्काउनुका साथै अन्नबाली पनि नष्ट गरेको थियो । बाढी प्रभावित रामनगर गाँउपालिका-४ का धनेश्वर राउत भन्नुहुन्छ, ‘बाढी गएदेखि घरमा हेर्न आउने धेरै जना भए । अहिलेसम्म कसैले केही ल्याएर दिएका छैनन् । अस्ति गाउँपालिकाले बाँडेको त्रिपाल र चिउराको भरका बसेका छौँ । पाउनु-खानु केही छैन, हेर्नेको लर्को लागेको छ ।’ 

बाढी प्रभावित क्षेत्रमा खानीपानीको ठूलो समस्या रहेको स्थानीयले गुनासो गरेका छन् । शुद्ध पिउने पानी नभएकाले अहिले प्रभावित क्षेत्रका स्थानीय चापाकलको दूषित पानी खान बाध्य छन् । बाढीबाट प्रभावित भएकाहरु विभिन्न संघ–संस्था र स्थानीय तहले दिएको राहतको त्रिपालको भरमा रात काट्न बाध्य छन् । 

त्यसैगरी बाढीले ठाउँठाउँमा सडक बगाउँदा स्थानीयलाई एक गाउँबाट अर्को गाउँ जान-आउन समस्या परेको छ । कौडेना गाँउपालिकाको लखन्देही नदीको छेउमा रहेको सडक र कल्भड बाढीले बगाएपछि हुलाकी सडकमा यातायात सेवा बन्द भएको छ । सदरमुकाम जोड्ने हुलाकी सडक बाढीले बगाएपछि स्थानीयहरु ‌औषधि उपचार गर्न र सरकारी कार्यालय आउन जान पनि समस्या छ ।

बाढीले सडक र कल्भर्ट बगाएपछि बाँसको पुल बनाएर स्थानीयले वारपार गरिहेका छन् । बगदहका स्थानीय रहिन खाँन भन्नुहुन्छ, ‘बाढीले सडक बगाएपछि एक हप्तादेखि औषधि लिन मंलगवा जान सकिएको छैन । बस चल्दैन, हिँड्न बाटो पनि राम्रो छैन, अब कहिले सडक बन्ने हो ?’ 

स्थानीय प्रशासनले बाढी तथा डुबान परिवारको संख्या पत्ता लगाउन ७७ जनाको टोली खटाए पनि अहिलेसम्म १२ ओटा पालिकाको क्षतिको जानकारी प्रशासनलाई दिएको छ । बाँकी रहेका आठ पालिकाको जानकारी आउन साथ राहत वितरणको काम सुरु हुने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया