स्याङ्जाका २० सरकारी कार्यालयमा अनुगमन: कुनै कार्यालय नै खाली, कुनैका कर्मचारी अमेरिकामा

 साउन २८, २०७६ मंगलबार ७:१५:३३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार स्याङ्जा सदरमुकामका २० सरकारी कार्यालयमा एकैपटक छड्के जाँच तथा अनुगमन गरेको छ ।

४ टोली खटाइएको अनुगमनका क्रममा छड्केमा परेका सबै कार्यालयका हाजिरी रजिस्टर टोलीले प्रशासन कार्यालयमा ल्याएर जाँच गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो । छड्केमा परेका कार्यालयका २७४ कर्मचारी मध्ये १९ अधिकृत तथा ७७ विभिन्न पदका कर्मचारीहरु कार्यालय हाजिरी नभएको भेटिएकाे प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो ।

सदरमुकामका खानेपानी डिभिजन, नापी र घरेलुका सबै कर्मचारीहरु कार्यालयमा भेटिएका थिए । अनुगमनका क्रममा जिल्ला अस्पतालमा ८ अधिकृतसहित ३६ जना समयमा नै काममा नजाने गरेको प्रशासनले जनाएको छ । अस्पतालका प्रमुख डाक्टर अमृत पोख्रेल साउन १३ गतेबाट अनुपस्थित रहेको तथा डाक्टर शुशिल मरासिनी वैशाखबाट कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । 

डाक्टर मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डाक्टर पोख्रेल दुई हप्ते बिदामा रहनु भएको अस्पताका निमित्त प्रमुख डाक्टर रन्जु पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै आयोजना कार्यान्वयन इकाई (शिक्षा) का १० जना कर्मचारी रहेकोमा सबै कर्मचारी काज लिएर बसेको बताइएको छ । 

यस्तै जिल्ला तथ्याङक कार्यालयमा ११ जना कर्मचारी रहेकोमा ९ जना कर्मचारी फिल्ड लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने र बिदा नलिनेको गयल कट्टा हुने बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले गयल कट्टा हुने कर्मचारीको गयल बराबर सेवा अवधि कम हुने सरकारी नियम रहेको स्पष्ट पार्नुभयो ।

कार्यालय छड्केमा पुनर्निर्माणमा ८, डिभिजन वन ७, हुलाकमा ७, सुन्तला जोनमा ६ जना,कृषि ज्ञान केन्द्रमा ५ , भेटनरी अस्पतालमा ३, जिल्ला स्वास्थ्यमा २, कोलेनिकामा १, विद्युतमा १, जलश्रोत तथा सिँचाई विकास डिभिजनमा ४, आयुर्वेदमा २, राष्ट्रिय जिल्ला समन्वयमा ४, , शिक्षा विकास तथा समन्वय इकाइमा १ तथा मालपोतमा १ जना कर्मचारी अनुस्थित रहेका भेटिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • दिपक बस्याल

    Aug. 13, 2019, 10:22 a.m.

    स्याङ्जामा यस्ता कयौ विकृति छन तर मिडियामा खासै आउने गरेका छैन, तपाईले हिम्मत गर्नु भयछ, आगामी दिनहरुमा पनि यस्ता लेख्दै गर्नु होला, प्रायः हाम्रो तिर राजनितीक त्रासका कारण र केही प्रलोभनमा परेर बिकृतिका समाचार बन्दैनन, आशा गरौ अब बन्नेमा, अन्तमा मालुङ्गाको केस के हो यथार्थ राष्ट्रिय मिडियामा समेत आउने गरि लेखिदिनु होलाधन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया