बैंकिङ ठगीमा मुछिएका कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री खत्री बर्खास्त

 साउन ३१, २०७६ शुक्रबार ७:३१:६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरिएको छ ।

बिहीबार राति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खत्रीलाई पदबाट हटाउनु भएको हो । यस विषयमा प्रदेश सरकारले प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी गराइसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो ।

खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख बमोजिम पदमुक्त गरिएको  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

बैंकिङ्ग कसुरको अभियोगमा उच्च अदालत पाटनले गएको मंगलबार पक्राउ पुर्जी जारी गरेपछि खत्रीको आलोचना भइरहेको थियो । यसै क्रममा मुख्यमन्त्री शाहीले खत्रीलाई मन्त्रीबाट पदमुक्त गरेर भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत लिनुृ भएको छ ।

कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न उच्च अदालतले सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो ।

खत्रीसहित ५ जनाले १ करोड ८० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टी गरेको आरोप छ । उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरेर बैंकलाई हानी नोक्सानी पुर्‍याएको बैंकले  दाबी गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया