गाईजात्रा विशेष : पशुपतिनाथले सकेनन्, फेसबुकले देश चलाउँछ !

 साउन ३२, २०७६ शनिबार ९:३३:९ | मिलन तिमिल्सिना
unn.prixa.net

समाज र सरकारभन्दा सामाजिक सञ्जाल अगाडि । फेसबुकमा जे भाइरल भो, समाज त्यसकै पछाडि । पहिले पशुपतिनाथले देश चलाउँथे, अहिले फेसबुकले देश चलाउँछ, मान्छेले फेसबुक चलाउँछ ।

पशुपतिनाथ थाके, फेसबुकवाला जागे । फेसबुकमा जे आयो, समाज त्यही पत्याउँछ । फेसबुककै  प्रतिक्रिया पढेर सरकारले निर्णय सच्याउँछ । फेसबुकको पछि मान्छे कुद्छ । त्यसकै पछाडि प्रहरी कुद्छ । फेसबुक नै वाचनालय । फेसबुक नै प्रतीक्षालय । फेसबुक नै  न्यायालय ।

ढंग नभएपछि जति तिहाइ भए पनि केही लछारपाटो लगाउने हैन रैछ । नत्र आँखा चिम्लेर ल्याएका विधेयक किन अलपत्र हुन्थे ? मै हुँ भन्नेले किन कपाल कन्याउँथे । न केन्द्र सरकारको ढंग गतिलो, न प्रदेश र पालिका सरकारको रंग भरिलो ।

सिंहदरबारदेखि स्यालपाखासम्म राजैराजा । आफै ठेकेदार, आफ्नै डोजर भएपछि पोल्टाभरि खाजा । कतै पिर्के सलामी, कतै कुर्सी सलामी । डर लाग्छ, यिनै बन्ने हुन् कि गणतन्त्रको मलामी !

कुर्सीमा केपी, पर्खाइमा पीके । स्कुल विभागमा बल्लबल्ल टीके ? को कति किनिए, को कति बिके ? अरु विभागमा छिर्केबिर्के । एकता सधैं ए कता भो, भाँडभैलो दल । सत्तारुढ दलभित्रै विरोधीको बल ।

विपक्षीको बासस्थान सानेपा सुनसान । विश्वप्रकाश र गगनले बेलाबेला धान्छन् प्रतिपक्षको शान । नाम शेर भए पनि ल्याङल्याङ भयो धेर । यताउता मिलाउँदैमा समय गयो खेर ।

बबुरा बाबुराम कति मारुन् बुर्कुसी । सत्तापक्ष भैसक्दासमेत संसदमा अझै प्रतिपक्षको कुर्सी ।

नागार्जुन सरेका पूर्वलाई सकुञ्जेल नचाउ । बर्बराउँछन् गल्लीतिर – राजा आउ देश बचाउ ।

के कविता कोर्नु, हराइसके कवि । देशमा चर्चा पाउन कि हुनुपर्छ रवि, कि बन्नुपर्छ छवि ।

कम्युनिष्टलाई दुई तिहाइ धेरै भयो, कांग्रेसलाई एक तिहाइ थोरै भयो । सिंहदरबारमा ओली, बेलाबेला विप्लवको बम र गोली । सधैँ शान्ति सुरक्षाको खोजी, न आज पाइन्छ न भोलि ।

सडकमा सधैंको बाढी र भेल । गफ चाहिँ सधैँ पानीजहाज र रेल । नागरिकको भान्सामा मुस्किल छ, नुन र तेल । यतै जालझेल, उतै खेल । के के न गर्छु भन्ने ओलीको काम अलमल र बेमेल ।

सुन किन्न पनि गाह्रो, लसुन किन्न पनि गाह्रो । बजार डुल्नै साह्रो । विद्यालयमा कुरीति, विश्वविद्यालयमा राजनीति । घूस दिएर नम्बर घटबढ गर्ने कस्तो बस्यो बेथीति । यतै भद्रगोल, उतै भद्रगोल । केही गर्छु भनेर मैदान छिर्नेले गर्नै सकेन एक गोल ।

यता पनि भएन, उता पनि भएन । सडकमा भएका सत्तामा पुगे, सत्तामा भएका सडकमा पुगे, तर भोट दिनेले केही पाएन । उनीहरु नेताका तालमा मच्चिए, अहिले आएर आफै थच्चिए ।

पृथ्वी गोलो छ, कुर्सीमा ओहोरदोहोर गर्नेको खेला पनि गोलै छ । कहिले यो बस्छ, कहिले त्यो बस्छ । कहिले यो थचारिन्छ, कहिले उ बटारिन्छ । नेतालाई पालैपालो कुर्सी र मोज । नागरिकलाई न भोज न मोज ।

यता अस्वीकार । उता स्वीकार । उता बलात्कार । त्यता नमस्कार । यता लम्पसार । अस्तव्यस्त, अलपत्र, यो भद्रगोलले कहिले पाउला पार ?

काम गराइको मिलेन मात्रा । भद्रगोलकै बीचमा गाईजात्रा । यसपटक नि पढ्नुहोस् भुटभाट र मिसमास पारिएको क्वाँटीजस्तो पुरानै व्यङ्ग्यको मात्रा । 

खस्कियोप्रसाद बोली

भन्ने कुरा सकिसक्यो खस्कियो बोली
प्रचण्डजी पालोमा छन्, आज हो कि भोलि
दुई तिहाइले नि केही नापिएन, गर्न छाडे भर
समृद्धिको बाटोभरि जताततै कर
कामभन्दा कुरा धेरै, किन मान्नु डर
पानीजहाज, रेल ल्याइन्छ,पत्याउँदैनन् तर ।

पालोप्रसाद दाहाल

कुर्सी हेरी बसिराछु, कहिले आउला पालो
एकताको प्वाल टाल्न कति खोज्नु टालो
पुष्पभन्दा बलियो थियो प्रचण्ड त्यो ताप
हिजोआज गन्नै छाडे, मलिन भयो राप

ल्याङबहादुर लेउवा

घरभित्रै छन् प्रतिपक्ष, कसरी मिलाउनु कुरा
गगन र विश्वप्रकाश ओली भन्दा छुरा
दुई भाइले धानिराछन् विपक्षीको धर्म
ठुटे रुख नपलाउँदा भैसक्यो शर्म

वामन दैव गौतम

दुई वाम एक ठाम ल्याउने नामै मेरो वाम
संसद छिर्ने दाउ नै मिलेन, सधैँको बेकाम
ओलीतिर ढल्के फेरि केही होला कि भोलि
फेरि पनि केही नमिले बोक्नुपर्ला झोली ।

बाबाधाम भट्टदाइ

एउटै कम्युनिष्ट बनाउने कत्रो थियो धोको
फस्ल्याङफुस्लुङ के के गरे भैयो बलीको बोको
नयाँ शक्तिको जोश हरायो भैयो समाजवादी
एक्लो शक्ति यही ठिक छ, मिल्छ रोजी छाडी

पदेन्द्र यादव

मन्त्री नभई धित मर्दैन, झुण्डिराछ पद
बाबुरामसँग जोडिएपछि अग्लो भाछ कद
सत्तारुढ हुँ कि विपक्षी आफैलाई अलमल
संविधान संशोधन नाम मात्रै पदमै ढलमल

मौन वैद्य

प्रचण्डजीलाई सत्ता प्यारो चन्दलाई जंगल
आफ्नो भने कसैगरी भएन है मंगल

विचित्र केसी

संघीयता काम छैन भन्या हो नि पहिले
जताततै कर तिर्दा बल्ल चेते अहिले
थ्रेसहोल्डले थला पार्यो, न मन्त्री न सांसद
अब आशा मरिसक्यो, कहाँ मिल्ला र पद

कोमल थापा

मान्छेले नि बिर्सिसके, हरायो मेरो नाम
न राजा, न जनता कतै मिलेन काम
गाईलाई माया गर्ने छैनन् अब मान्छे
दाउ अझै हेरिराछु कसरी मिल्ला भान्छे ?

अन्तिम अपडेट: भदौ २६, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • पदम बहादुर श्रेष्ठ

    Aug. 17, 2019, 11:45 a.m.

    यति राम्रो चुटकुला लेख्नु भयकोमा तपाई लाई बहुत बहुत धन्यवाद।

  •  0 Reply

तपाईको प्रतिक्रिया