बासी खाना खाँदा रामेछापमा नौ जना बिरामी

 भदौ ३, २०७६ मंगलबार २०:३:५८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - बिहानको बासी खाना बेलुकी तताएर खाँदा रामेछापमा ९ जना बिरामी परेका छन् ।

मन्थली नगरपालिका वडा नं–११ मा मनकामना माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा संलग्न ९ जना कामदारहरु बिरामी परेका हुन् । 
सोमबार बिहान पकाएको खाना राति भुटेर खाएका कामदारहरु मंगलबार बिहानदेखि बिरामी परेका हुन् । उनीहरुलाई ज्वरो आउने, पखाला लाग्ने, पेट दुख्ने जस्ता साझा लक्षणहरु देखा परेकाे बताइएकाे छ ।

बिरामी पर्ने कामदारहरु रामेछाप, मोरङ र ओखलढुंगा जिल्लाका रहेका बताइएकाे छ । उनीहरुको मन्थलीमा रहेकाे तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ । 

बासी खानाका कारण कामदारहरु बिरामी परेको उपचारमा संलग्न तामाकोशी अस्पतालका चिकित्सक शिवलक्ष्मी कुँवरले बताउनुभयाे ।बिरामीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ  । सोमबार राति भुटेको खाना खाएर सुतेका सबै बिहान उठ्नेबित्तिक्कै बिरामी परेको अस्पतालमा भर्ना भएका राजु मगरले बताए । 

गाउँको विद्यालय भवन निर्माणका लागि विभिन्न जिल्लाबाट आएका कामदारहरु एक्कासी बिरामी भएपछि अस्पतालमा उपचारका लागि ल्याइएको मन्थली नगरपालिका वडा नं–११ का वडा अध्यक्ष भिमबहादुर थापामगरले बताउनुभयाे । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया