विदेशमा गर्ने दुःख आफ्नै देशमा गरे ‘विदेश’ यहीँ छ

 भदौ ४, २०७६ बुधबार १२:३७:४२ | उज्यालो सहकर्मी

काठमाण्डाै – मेरो नाम नारायण सुवेदी हो । घर बीरगञ्ज । म ३२ वर्षको भएँ । ४ वर्ष विदेशमा मजदुरी गरेर फर्केको हुँ । अहिले आफ्नै देशमा मजदुरी गर्छु । काठमाण्डौमा खानेपानीको पाइप बिछ्याउने काम गर्छुँ । 

विदेशमा गर्ने कामभन्दा त आफ्नै देशमा गर्ने काम आनन्ददायी हुने रहेछ भन्ने मलाई लागेको छ । न कसैको करकाप, न त सन्चो नहुँदा पनि काम गर्नुपर्ने बाध्यता । आनन्द छ ।

६ वर्ष अगाडिको कुरा हो । गाउँघरमा लहर नै चलेको थियो, विदेश जाने । अहिले पनि छ । म पनि त्यही लहरमा मिसिएर २०७० सालमा मलेसिया पुगेँ । त्यहाँ ४ वर्ष बसेँ । दुई वर्ष भयो नेपाल फर्केको । मलेसिया जानुभन्दा पहिले पनि मजदुरी गर्थेँ । धेरै ठाउँमा धेरै काम गरियो । तर त्यही त हो नि । कस्तो न होला विदेश गएपछि भन्ने लाग्थ्यो, तर केही रहेनछ । 

मलेसियामा पनि यहाँको जस्तै निर्माणको काम गरेँ । सबैले बुझ्ने भाषामा भन्नुपर्दा मजदुरीकै काम गरियो । घरहरु, सडकहरु बनाउने । गिटी, बालुवा बोक्ने । मेसिन चलाउने । निर्माणको सबै काम गरियो ।

एजेन्टमार्फत गएको थिएँ मलेसिया म । एजेन्ट मेरै जेठान हुनुहुन्थ्यो । उहाँले नै मलाई मलेसिया पठाउनुभएको । एजेन्टले त ठगेन होला या ठगेको मलाई थाहा भएन । तर यता भनेजस्तो भने उता भएन ।

काममा अलि बढी नै खट्नुपर्ने हुन्थ्यो । यहाँबाट ९ घण्टा भनेर लगेको थियो । तर उता गएर १२ घण्टा काम गर्नुपथ्र्यो । बस्ने ठाउँको पनि समस्या थियो । कहिलेकाहीँ काम गर्दा गर्दै जङ्गलमा पनि बस्नुपथ्र्यो ।

यस्तै मेहनतअुनसारको कमाइ पनि थिएन । त्यहाँ बसेर खासै धेरै कमाइएन पनि । ४ वर्ष बसेर ८ लाख जति कमाइयो होला । जे होस् त्यहाँको कमाइले जाँदा लागेको ऋण तिरियो । सानो घर पनि बनाइयो । अरु त खासै केही भएन ।

अब त मलेसिया जाने मन छैन । आफ्नै देशमा काम गर्दा जतिबेला सकेन काम छोड्न पाइयो । बिरामी भएको बेला पानी तताएर दिने त कोही हुन्छन् नि । तर विदेशमा त त्यस्तो कहाँ हुन्छ र ?

जहाँ गए पनि काम गर्न सजिलो त कहाँ हुन्छ र ? सानोतिनो काम भए पनि नेपालमै गर्नुपर्यो भनेर नेपालमै बसेँ । यहाँ पनि कमाइ नहुने त होइन नि । नेपालमा विदेशको तुलना गरेर भएन । विदेशमा परिवारसँगै हुँदैनन्, यहाँ हुन्छन् । सबै कुरा हेर्नुपर्यो नि । 

मलाई त पैसा मात्र ठूलो होइन जस्तो लाग्छ । यहाँ म ठेकेदारमार्फत काम गरिरहेको छु । दिनमा ८ घण्टा काम गर्नुपर्छ । दिनको खानबस्नसहित ७ सय मिलेकै छ । महिनाको २० २१ हजार भइहाल्छ ।

जे जस्तो भए पनि आफ्नै देशमा काम गरेजस्तो अर्काको देशमा हुँदैन रहेछ । विदेशमा गर्ने दुःख आफ्नै देशमा गर्ने हो भने विदेश यहीँ छ ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया