सञ्जालमा देश बनाउने गफ, सडकमा देश बदल्ने काम

 भदौ ४, २०७६ बुधबार १६:३६:२६ | मिलन तिमिल्सिना
unn.prixa.net

‘त्यो साले ट्रक ड्राइभरलाई मैले बिजुलीको पोलमा बाँध्नै खोजेको थिएँ, सालेले माफ माग्यो, अनि छोडिदिएँ’ हातमा वाकीट्वाकी बोकेर उताबाट शानसँग आउँदै गरेका प्रहरी हवल्दार आफ्नै सुरले बोले ।

‘के भयो र सर ?’ नजिकै आएपछि मैले सोधें ।

‘कति भन्नु सालेहरुलाई यो चोकबाट ठूला गाडी छिराउन पाईंदैन भनेर, आज पनि एउटाले छिराइहालेछ, अनि ओरालेर पोलमा बाँधिसकेको थिएँ, हात जोड्न थाल्यो अनि छोडिदिएँ’ हवल्दार ‘साब’ले गर्वका साथ भने ।

‘मान्छेलाई बाँध्न त कहाँ मिल्यो र ? जरिबाना तिराउने, सम्झाउने, बुझाउने होला नि’ म पनि जान्ने पल्टिएँ ।

‘कति सम्झाउनु ? कति बुझाउनु ? कति तिराउनु ?’ हवल्दार ‘साब’ झोक्किए । त्यहीबेला नख्खुबाट कलंकीतिर गुड्दै गरेको बसले धोबिघाटको जेब्राक्रसिङमा रोकेर यात्रु भर्न थाल्यो । ‘ओइ साले पख् तँलाई’ भन्दै हवल्दार ‘साब’ले वरैबाट थर्काए । सडकको पेटीसम्म मान्छे तान्न पुगेको सहचालक हतारिंदै बस भएतिर कुद्यो र ढोका ढ्यापढ्याप पार्यो । हवल्दार ‘साब’ फेरि म भएतिर आए ।

‘तपाईँ कहाँ के मा काम गर्नुहुन्छ ?’ हवल्दार ‘साब’ले सोधे । मैले आफ्नो परिचय दिएँ । मोबाइल हेर्दै गाडी कुर्दै गरेको मलाई उनले भने, ‘ए गाह्रो छ है अहिले त पत्रकारलाई पनि, फेसबुक र युट्यूबतिर पनि के–के आइरहन्छ’ हवल्दार ‘साब’ले पछिल्ला प्रसँग उप्काए । मैले टाउको मात्रै हल्लाएँ ।

उनलाई अलि धेरै गफ गर्न मन थियो क्यारे । तर म चुप लागेँ । उनी फेरि परतिर लागे ।
...............

ललितपुरको धोबीघाट चोक । चार वर्षदेखि मेरो गाडी पर्खने प्रतीक्षालय भएको छ । कार्यालयबाट घर ओहोरदोहोर गर्ने बाटो यही हो । कीर्तिपुर–लगनखेल चल्ने बस मुस्किलले आधा घण्टामा आउँछ । त्यो पनि खुट्टो राख्ने ठाउँ हुँदैन । १० मिनेटसम्म पर्खंदा आयो भने बस चढिन्छ । नत्र लखरलखर हिँडिन्छ । मेरो आफ्नै शैली । 

बस पर्खेर, चढेर, फेरि बसबाट ओर्लिएर हिँड्नु र बस पर्खंदै नपर्खंदै लखरलखर हिँड्नुमा त्यही १५, २० मिनेटको फरक हो । बसमा जाँदा ४५ मिनेट लाग्छ, हिँडेर एक घण्टा । १५ मिनेट छिटो पुग्न १५ रुपैयाँ किन खर्च गर्नु भनेर धेरैपटक हिँड्ने गर्छु ।

त्यसमाथि बसमा भन्दा हिँड्दा छुट्टै आनन्द । बसमा गफ गर्नेहरु धेरै भेटिन्छन्, हिँड्दा आफ्नै सुरमा काम गर्नेहरु देखिन्छन् । लगनखेलबाट कीर्तिपुर जाने बसमा बेलाबेला एकजना सरकारी कर्मचारीसँग भेट हुन्छ । पहिले कीर्तिपुरको एक सरकारी कार्यालयमा काम गर्दा रहेछन् । अहिले जाउलाखेलमा सरुवा भएका रे ।

‘मैले राम्रो काम गरेको देख्न नसहेर हाकिमले सरुवा गर्यो, मलाई पनि के छ र ? हाजिर गर्छु, हिँड्छु’ सामान्य परिचयमै उनले आफ्नो कुरा सुनाए । ‘यो देशमा राम्रो काम गर्नेहरुको मूल्याँकन छैन हेर्नुहोस्, पहिलेको अफिसमा भैरहेको भए मैले के–के गरिसक्थें, अहिले हात बाँधेर राखिदिए’ उनको कुरा सुनेर म फिस्स हाँसे मात्र ।

मैले धेरै चासो नदिएको बुझेर होला हिजोआज भेट्दा उनी हाँस्छन् मात्र, पहिलेजस्तो आफ्नो बखान गर्दैनन् ।

बसमा अझ धेरै कलेजका विद्यार्थी हुन्छन् । हातमा मोबाइल खेलाएर बसिरहेका । ‘ओइ हेर त फेरि अर्को खुलासा भयो रे नि’ एउटाले मोबाइलको युट्यूबको शीर्षक देखायो । ‘हैन त्यो मान्छेले आत्महत्या नै गरेको पुष्टि भयो रे त ?’ अर्कोले भन्यो । ‘रविलाई अझै केही दिन थुन्ने भएछ, यो त अति भयो यार’ अर्को बोल्यो । उनीहरुको कुरा सुनेर अरु यात्रुले पनि कान ठाडो बनाए । ‘खै के हो के, अनलाइन र यूट्युबमा पनि के के आउन थाल्यो । देश नै यिनीहरुले चलाउने भए, के मात्र पत्याउनु’ अघिल्तिर सिटमा बसेका भलाद्मीजस्ता देखिने एक जना बोले । कलेजका विद्यार्थी आआफ्नै सुरले तर्क गर्न थाले ।

बस चढ्दा दिनहुँ यस्तै गफ मात्र सुनिन्छन् । कसैले सामाजिक सञ्जालले मान्छे बिगारेको कुरा गर्छन् । कसैले सामाजिक सञ्जालमा देश बनाएको सपना सुनाउँछन् । एकछिन सुन्नलाई झटकलाग्दो मात्र ।

तर हिँड्दा गफभन्दा धेरै काम गर्ने मान्छे भेटिन्छन् । जसलाई सामाजिक सञ्जालमा के भैरहेको छ भन्ने सोच्ने फुर्सद छैन । आफ्नै काम र मेहनतमा मात्र विश्वास छ । धोबीघाटदेखि कीर्तिपुरसम्म हिँड्दा मैले ठाउँठाउँमा काममा व्यस्त र प्रेरणादायी यस्तै मान्छे भेटेको छु ।

भेटेकामध्ये धेरैसँग भलाकुसारी गरेको छु । उनीहरुको संघर्ष र कथाव्यथा सुन्दा लाग्छ, कामको महत्व बुझेकालाई कुरामा भुल्ने फुर्सद छैन । कामप्रतिको लगाव, मेहनत र परिश्रमले उनीहरुले आफ्नो गुजारा मात्र चलाएका छैनन्, समाज परिवर्तनको महत्वपूर्ण सन्देश दिन पनि सफल छन् ।

जुत्ता सिलाउने समिर राम

परिवार सम्पन्न भएको भए, रौतहटका २३ वर्षीय समिर राम यतिबेला कलेज पढिरहेका हुन्थे । साथीहरुसँग पढाइसँगै फुर्सदमा मोबाइलमा रमाउँथे । फेसबुक र युट्यूब हेरेर देश र समाजबारे धारणा बनाउँथे ।

तर गरिब परिवारमा जन्मेका उनले समयमा लेखपढ गर्न पाएनन् । सानैदेखि रमाउनेभन्दा कमाउनेतिर ध्यान दिनुपर्ने बाध्यता आइलाग्यो । किताब कापी बोकेर स्कुल जाने बेला कुटोकोदालो बोकेर खेतबारी पुगेन । अनि कलेज जाने बेला विदेश हानिए । विदेशमा पनि भएजस्तो भएन । त्यसपछि उनी गाउँ फर्किए । विदेश जाँदा लागेको ऋण तिर्ने उपाय खोज्दै काठमाण्डौ आइपुगे ।

धोबीघाटबाट सुन्दरीघाटतिर जाने चोकको छेउमा एउटा ठूलो छाता ठड्याइएको छ । मुश्किलले घाम पानी छेक्ने छाता मुनि बस्छन् समिर राम । दिनभर त्यहीँ बसेर छाता र जुत्ता बनाउन आउने ग्राहकको प्रतीक्षा गर्नु उनको दैनिकी हो ।

ग्राहक नआउँदा उनी मोबाइलमा गीत सुन्छन् । तर फेसबुक चलाउँदैनन् । ‘फेसबुक त खोलेको छु, तर त्यति हेर्दिन, फुर्सदमा गीत सुन्छु, नत्र काम’ रामले भने । तीन वर्षअघि मलेसिया गएर फर्किएका रामलाई फेसबुकमा भुलेर बस्ने मन छैन । दिनरात काम गरेर कमाउने धोको छ ।

याे पनि पढ्नुहाेस्

धोबीघाट पुग्दा उनी कहिले काममा व्यस्त देखिन्छन्, कहिले फुर्सदमा । ‘भाइ ठिक छ नि’ भन्दा मुसुक्क हाँसेर टाउको हल्लाउँछन् । उनको मुस्कानले थप उर्जा मिल्छ । म उर्जाले भरिएको पाइला अगाडि सार्छु । त्यहाँबाट १० पाइला अघि पुगेपछि लुगा सिलाउन व्यस्त कुमार सुन्दासलाई भेटिन्छ ।

कपडा सिलाउने कुमार सुन्दास

बारा निजगढका कुमार सुन्दास पनि पहिले यसैगरी सडक छेउमा बसेर कपडा सिलाउनुहुन्थ्यो । अहिले सटरभित्रै बसेर लुगा सिलाउने काम पाउनुभएको छ ।

उहाँका पनि आफ्नै कथाव्यथा छन् । सानैदेखि बाबुबाजेले गर्दै आएको पुख्र्यौली पेशा धान्नुपर्ने बाध्यता आइलाग्यो । अक्षर चिन्नुभन्दा पहिले काम जान्नु पर्यो । काम जान्न थाल्दा अक्षर चिन्न पाइएन । त्यसपछि दुःखका दिन सुरु भए ।

गाउँघरमा लुगा सिलाउँदा भनेजस्तो कमाइ नभएपछि दुबई पुग्नुभयो । त्यहाँ काम राम्रै थियो । विदेश गएका धेरैलाई एजेण्ट र म्यानपावरवालाले धोका दिन्छन्, तर उहाँले चाहिँ श्रीमतीबाटै धोका पाउनुभयो । विदेशमा दुःख गरेर कमाएको सबै पैसा बोकेर श्रीमती अन्तै हिँडिन् । त्यसपछि कुमारको जिन्दगीमा अर्को कालो बादल मडारियो ।

रित्तिएको जिन्दगी र खल्ती भर्नका लागि कुमार धोबीघाटको सडकमा बसेर लुगा सिलाउन थाल्नुभयो ।

याे पनि पढ्नुहाेस्

अहिले उहाँ सडकबाट सटर पुग्नुभएको छ । उहाँको सीप र मेहनत देखेर नजिकैको लुगा सिलाउने पसलवालाले उहाँलाई काममा लगाएका हुन् । सटरभित्र काम गर्न थालेपछि जिन्दगीको अँध्यारो बाटोमा अलिअलि उज्यालो देखिन थालेको छ । उहाँलाई पनि गफगाफ र सामाजिक सञ्जालमा आएका कुरा हेर्ने र सुन्ने फुर्सद छैन । काममा मात्र ध्याउन्न छ ।

‘फुर्सदिलाले हो हजुर गफ गर्ने, हामीलाई त कामभन्दा अर्को कुरा सोच्ने फुर्सद नै हुँदैन’ लुगा सिलाउने मेशिन चलाउँदै उहाँले भन्नुभयो । कुरामाभन्दा काममा ध्यान दिने हो भने जिन्दगीका जतिसुकै अप्ठ्यारा बाटोमा पनि सहज खुड्किला बन्न थाल्छ भन्ने सन्देश दिन उहाँ सफल हुनुभएको छ ।

श्रीमानलाई विदेशबाट फर्काएर चिया बेच्ने उर्मिला

कुमारले काम गर्ने पसलबाट झण्डै ५ सय मिटर अगाडि बढेपछि सुन्दरीघाट पुगिन्छ । झोलुंगे पुल तर्नेबित्तिकै बाटो छेउमै छ, गोरखाकी उर्मिला थापाको चिया पसल । चिया पसलमा थरिथरीका मान्छेको जमघट भैरहन्छ । फेसबुके टिप्पणीदेखि राजनीतिका कुरा भैरहन्छ । तर उर्मिला र उहाँका श्रीमान विवेकलाई यी सबै कुरा सुन्ने फुर्सद छैन ।

'अरुका कुरा सुनिन्छ मात्र, हामीलाई त गफ गर्ने फुर्सद नै हुँदैन’ चिया पकाउँदै गरेकी उर्मिलाले भन्नुभयो । पहिले उर्मिला एक्लैले चिया पसल चलाउनुभएको थियो । श्रीमान विवेक वैदेशिक रोजगारीको लागि बहराइन पुग्नुभएको थियो । तर बहराइनमा विवेकको कमाइभन्दा सुन्दरीघाटमा उर्मिलाको चिया पसलको कमाई धेरै हुन थाल्यो । अनि घर बिदामा आएका विवेकलाई चिया पसल छोडेर बहराइन फर्किन मन लागेन । श्रीमान श्रीमती मिलेर चिया पसल चलाउनुहुन्छ । चिया पिउनेहरुको गफ सुन्नुहुन्छ । तर अनावश्यक गफमा मिसिनुहुन्न । चित्त बुझ्ने कुरामा मात्रै सही थाप्नुहुन्छ ।

याे पनि पढ्नुहाेस्

‘बोलेर होइन, गरेर देखाउनुपर्छ’ विवेक भन्नुहुन्छ, ‘यो देशमा गर्नेभन्दा धेरै बोल्ने र आफ्नो कान नछामी कागको पछि लाग्नेहरु धेरै छन् । देश साँच्चै बदल्ने हो भने सामाजिक सञ्जालमा होइन, काममा रमाउनुपर्छ ।’ सबैले आआफूले जाने र सिकेको कुरा गर्ने हो भने जुनसुकै क्षेत्रमा पनि राम्रो अवसर रहेका विवेक र उर्मिलाको अनुभव छ ।

माथिका यी पात्र त उदाहरण मात्र हुन् । काठमाण्डौका सडक र गल्लीमा यस्ता उदाहरणीय र प्रेरणादायी पात्र धेरै छन् । जो सामाजिक सञ्जालमाभन्दा काममा रमाउँछन् । मेहनत र परिश्रममा विश्वास गर्छन् । यो विश्वासले उनीहरुको गुजारा त चलेको छ नै, अरुलाई पनि मेहनत र परिश्रममा विश्वास गर्न प्रेरणा दिएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया