फौजी किराले रामेछापकाे अन्नबाली सखाप, किसान चिन्तित

 भदौ ६, २०७६ शुक्रबार १६:३२:१७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – पछिल्लो समय विभिन्न जिल्लामा अमेरिकन फैजी किराको प्रकोप बढ्दो छ । रामेछापका विभिन्न गाउँपालिकामा पनि यसको प्रकोप देखिएको छ । 

खाँडादेवी गाउँपालिकाको वडा नम्बर-३, भिरपानीकोे लाप्का र डफ्का तथा रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा अमेरिकन फौजी किराले अन्नबाली सखाप पारेपछि त्यस क्षेत्रका किसान चिन्तित बनेका छन् । 

यसअघि देखा नपरेको किराले खेतबारीमा लगाएको बाली सखाप पारेपछि किसानहरुले फौजी किराको नियन्त्रणका लागि सम्बन्धित पक्षसँग सहयोग मागिरहेका छन् । खेतबारीमा लगाइएको बाली र डालेघाँसमा किराको प्रकोप देखिएको हो । फौजी किरा एक पटकमा एक सय मिटर टाढासम्म उडेर जाने र दिउँसोभन्दा बढी राति सक्रिय हुन्छ । 
 
आफूले लगाएको बाली फौजी किराले सखाप पारेपछि केही किसानहरुले फेरि अर्काे बाली लगाउन सुरु गरेका छन् । मकैको बोटको गुवावाट पसेको किराले मकैको डाँठ प्वाल पार्दै जरासम्म खाने गरेको छ  । 

त्यस्तै मकैलगायत अन्य खाद्यबालीमा देखिएको फौजी किराले सबै पात प्वाल पार्ने र पात नै पहेँलो हुने गरेको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ भिरपानी डफ्काकी गंगाकुमारी माझीले गुनासो गर्नुभयो ।  

‘यस्तो किरा अहिलेसम्म पनि देखेको थिइनँ, अहिले आएको किरा सेतो पुतलीजस्तै आकारको छ । यो किरा दिउँसो १÷२ ओटा मकै र अन्नबालीमा मात्रै देखिए पनि रातको समयमा मकैको पातभरि सेताम्मे हुन्छ’, माझीले भन्नुभयो । 
 
पहिले लगाएको मकैबाली सखाप भएपछि केही किसानहरुले फेरि दोहोर्‍याएर मकै पनि छर्न भ्याए । दोहोर्याएर लगाएको मकैबाली पनि सखाप पारेपछि त्यसको रोकथामको लागि केही किसानले विषादी समेत छरे । तर विषादी छर्दा पनि फौजी किरा नियन्त्रण हुनुको साटो लाभ्रा किरा झन् मोटाएर गएको स्थानीय किसान सानु माझीले भन्नुभयो । 
 
सुरुमा रामेछापको खाँडादेवी गाउँपालिकाको भिरपानीमा देखा परेको फौजी किरा अहिले रामेछाप नगरपालिकाको वडा नम्बर-५, रामपुरमा समेत देखा परेको छ । दिनभरि जंगलतिर लुक्ने यो किरा रात परेपछि खेतबारीमा लगाइएको अन्नबाली खाने गर्नेको छ ।

किसानहरुले भने आवश्यक रोग निराकरण गर्नको लागि प्राविधिकसहित विषादी उपलब्ध गराइदिन गाउँपालिकासँग माग गरेका छन् । ‘गाउँपालिकाका धेरै किसानहरुले आफ्नो खेत तथा बारीमा लगाएको सबै अन्नबाली सखाप भयो भनेर हामी कहाँ आएका छन् ।

किसानले जानकारी गराएपछि गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारी र गाउँपालिकाका केही साथीहरु गएर स्थलगत रुपमा निरीक्षण गर्दा धेरै प्रकोप देखियो’, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो । 
 

उहाँले भन्नुभयो, ‘किसानले लगाएको बाली सखाप पारेपछि हामीले तत्काल यो किरा कस्तो हो भनेर ल्याब परीक्षण गर्न काठमाण्डौ पठायौँ । ल्याब परीक्षणको रिपोर्टमा फौजी किरा नै भएको पुष्टि भएको छ । यसलाई रोक्न हामीसँग दक्ष जनशक्ति र त्यस अनुसारको विषादी नभएकाले प्रदेश र संघीय सरकारसँग अनुरोध गरेका छौं । यो समस्या हल गर्न हामी लागि परेका छौँ ।’ 
 
यसअघि यो किरा अमेरिका हुँदै छिमेकी देश भारत र चीन प्रवेश गरेको थियो । अहिले चीन हुँदै नेपाल प्रवेश गरेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । यो रोग नियन्त्रणका लागि त्यति सहज नभएको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया