जेटलीको पार्थिव शरीर बीजेपी मुख्यालय पुर्‍याइयो, दिउँसो साढे २ बजे अन्तिम संस्कार

 भदौ ८, २०७६ आइतबार १२:३९:५२ | एजेन्सी
unn.prixa.net

भारतीय पूर्व अर्थ मन्त्री तथा भारतीय जनता पार्टीका 'संकटमोचक' मानिने अरुण जेटलीको पार्थिव शरीर बीजेपी मुख्यालय पुर्‍याइएकाे छ । 

बीजेपी मुख्यालयमा जेटलीको शव दिउँसो १ बजेसम्म राखिनेछ, जहाँ नेता तथा पार्टीका कार्यकर्ताहरुले श्रद्धाञ्जली दिनेछन् । नयाँ दिल्लीको दीन दयाल उपाध्याय मार्गमा रहेको बीजेपी कार्यालयमा जेटलीलाई श्रद्धाञ्जली दिनेहरुको भिड लागेको छ । 

१ बजेदेखि साढे २ बजे जेटलीको पार्थिव शरीर यमुना नदीको निगमबोध घाटमा लगिनेछ र त्यहीँ नै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । पार्टी मुख्यालयदेखि निगमबोध घाट ८ किलोमिटर टाढा रहेको छ । 

जेटलीको शनिबार मध्यान्ह १२ बजेर ७ मिनेट जाँदा दिल्लीको एम्स अस्पतालमा निधन भएको थियो । सास फेर्न समस्या देखिएपछि जेटलीलाई गएको अगष्ट ९ मा एम्समा भर्ना गरिएको थियो । 

शनिबार साँझ जेटलीको पार्थिव शरीर दिल्लीमा रहेको उनको आवास कैलाश कोलनीमा लगिएको थियो । शनिबार उनलाई श्रद्धाञ्जली दिन बीजेपीका नेता मात्र नभइ दोस्रो पार्टीका नेताहरु पनि पुगेका थिए । 

पेसाले जेटली वकिल थिए र प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनी अर्थ मन्त्री पनि भएका थिए । उनलाई मोदीको कार्यकालमा सबैभन्दा शक्तिशाली मन्त्री मानिन्थे । उनी मन्त्री हुँदा ऋणसम्बन्धि कानुन बन्यो र जीएसटी बिल पनि पास भएको थियो । 

जेटलीको निधनमा प्रधानमन्त्री मोदी, राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह, विभिन्न दलका नेता, कलाकारदेखि खेलाडीसम्मले शोक प्रकट गरेका छन् । प्रधानमन्त्री माेदी भ्रमणकाे सिलसिलामा बाहिर रहँदा उनले ट्विटरमार्फत शाेक प्रकट गरेका थिए । 

जेटलीको परिवारमा उनकी पत्नी संगीता जेटली, छोरी सोनाली जेटली बख्शी र छोरा रोहन जेटली रहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया