भारतीय पूर्व अर्थ मन्त्री अरुण जेट्लीको राजकीय सम्मानका साथ अन्त्येष्टि

 भदौ ८, २०७६ आइतबार १५:३३:४७ | एजेन्सी
unn.prixa.net

भारतीय पूर्व अर्थ मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको यमुना किनारको निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । छाेरा राेहनले जेटलीकाे पार्थिव शरीरमा दागबत्ती दिए । 

जेट्लीको अन्तिम संस्कारमा भारतीय जनता पार्टीका अध्यक्ष तथा गृह मन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, योग गुरु बाबा रामदेव, भाजपा शासित राज्यका मुख्यमन्त्रीलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

जेट्लीको शनिबार ६६ वर्षको उमेरमा दिल्लीको एम्स अस्पतालमा निधन भएको थियो । लामो समयदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गएको अगष्ट ९ मा अस्पताल भर्ना गरिएको थियो । 

पेसाले जेटली वकिल थिए र प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनी अर्थ मन्त्री पनि भएका थिए । उनी मोदीको कार्यकालमा सबैभन्दा शक्तिशाली मन्त्री मानिन्थे । उनी मन्त्री हुँदा ऋणसम्बन्धी कानुन बन्यो र जीएसटी बिल पनि पास भएको थियो । 

जेटलीको निधनमा प्रधानमन्त्री मोदी, राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह, विभिन्न दलका नेता, कलाकारदेखि खेलाडीसम्मले शोक प्रकट गरेका छन् । प्रधानमन्त्री मोदी भ्रमणको सिलसिलामा बाहिर रहँदा उनले ट्विटरमार्फत शोक प्रकट गरेका थिए । 

जेटलीको परिवारमा उनकी पत्नी संगीता जेटली, छोरी सोनाली जेटली बख्शी र छोरा रोहन जेटली रहेका छन् । 

भारतले यसै महिना मात्रै दुई जना वरिष्ठ राजनीतिज्ञलाई गुमाएको छ । यसअघि अगस्ट ६ मा भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको थियो । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया