एउटै बाइकको मूल्य ६२ लाख, हाइब्रिड र विद्युतीय गाडीका स्टलमा भिड

 भदौ १०, २०७६ मंगलबार १७:५६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गाडी प्रदर्शनीको कुम्भ मेला मानिने नाडा अटो शोको १४ औँ संस्करण मंगलबारदेखि सुरु भएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको मेलामा २३ वटा ब्राण्डका कार १९ वटा ब्राण्डका दुई पाङ्ग्रे गाडीको साथै गाडीसँग सम्बन्धित अन्य सामग्रीका गरी १ सय ६० स्टल छन् । नाडा अटो शो नेपालकै ठूलो अटो शो हो ।

अघिल्लो वर्ष ५ अर्बको व्यापार गरेको नाडा अटो शोमो यो वर्ष ५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार हुने नाडाले जनाएको छ । मेलाको ७५ हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ  । नाडा अटो शोका मुख्य आकर्षण यस्ता छन् । 

एउटै बाइकको मूल्य ६२ लाख

नाडा अटो शोको मुख्य आकर्षण बनेको छ, एमभी अगस्टाको मोटरसाइल । नाडा अटो शोमा राखिएको यो मोटरसाइकलको मूल्य ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एम भी अगस्टा एफ–४ १००० मोडलको यो मोटरसाइकल ९ सय ९८ सीसीको रहेको छ ।

चार  सिलिण्डर इन्जिन, १ सय ९५ हर्स पावर भएको मोटरसाइकलको टर्क्यू क्षमता ११० एनएम रहेको छ । एमभी अगस्टा मोटरसाइकल नेपालमा गियर भेञ्चर प्रालिले बिक्री गर्दै आएको छ ।

यस्तै अन्ना इन्टरनेसनलले नेपाली बजारमा ल्याएको सीएफ मोटोको ४०० जीटी मोटरसाइकल अटो शोमा राखिएको छ । ४ सय सीसी इन्जिन क्षमताको यो मोटरसाइकलको बजार मूल्य ८ लाख रुपैयाँ तोकिएको छ । यस्तै बेनेली र बीएमडब्ल्यूका माेटरसाइकल पनि मेलाको आकर्षणका रुपमा रहेका छन् ।

फोर्डका नयाँ गाडी

नाडा अटो शो २०१९ मा फोर्डका दुई नयाँ मोडल राखिएको छ ।  अटो शोमा फोर्डको इकोस्पोर्टको नयाँ थन्डर भेरियन्ट तथा रेन्जरको हाइइन्ड भेरियन्ट राखिएको छ ।   यस्तै फोर्डले केही महिनाअघि बजारमा ल्याएको फिगोका साथै इन्डेभर, रेञ्जर, अस्पायर पनि अटो शोमा राखिएको छ ।

टाटाको एच फाइभ

भृकुटीमण्डपमा भैहरेको नाडा अटो शोमा टाटाको एच फाइभ लञ्च भएको छ । टाटा मोटर्सको नेपालको आधिकारिक विक्रेता सिप्रदी टे्रडिङले एच फाइभ शोमा सार्वजनिक गरिएको हो । यसको मूल्य ५६ लाख ५५ हजार रुपैयाँ राखिएको छ । भारतमा यो गाडीको नाम ह्यारियर रहे पनि नेपालमा भने एच फाइभका नामबाट बिक्री सुरु गरिएको सिप्रदीले जनाएको छ ।

एच–५ एक्स ई भेरियन्टको मूल्य ५६ लाख ५५ हजार, एक्स एमको ४४ लाख ५५ हजार, एक्स टीको ६९ लाख ५५ हजार र एक्स जेडको ७४ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

सुजुकीका हाइब्रिड कार

सुजुकी कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले नाडा अटो शा मा ३ वटा हाइब्रिड कार सार्वजनिक गरेको छ । मोटोकर्पले हाइब्रिड कार एस–क्रस, इर्टिगा र सियाज सार्वजनिक गरेको हो । हाइव्रिड कार महंगो हुने भएकाले नेपालमा धेरै बिक्री वितरण भएको थिएन ।

तर सरकारले यसै आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड कारको भन्सार दरमा कम गरिदिएपछि विभिन्न कम्पनीका लागि नेपालका आधिकारिक विक्रेताहरुले धमाधम हाइब्रिड कार ल्याउन थालेका छन् ।

टोयोटाका २ मोडलका हाइब्रिड, मूल्य १ करोड ३४ लाख

नाडा अटो शोकै अवसर पारेर टोयोटा कम्पनीका २ वटा हाइब्रिड कार पनि सार्वजनिक भएका छन् । टोयोटाका लागि नेपालको आधिकारिक विक्रेता वैद्य अर्गनाइजेशनले शोमा र्‍याभ फोर र क्यार्मी हाइव्रिड कार सार्वजनिक गरेको छ ।

अत्यन्तै सुविधायुक्त सेढान क्यार्मी हाइब्रिड कारको मूल्य १ करोड ३१ लाख रुपैयाँ तोकिएको छ । यो कार २४८७ सीसीको रहेको छ । यस्तै र्‍याभ फोर हाइब्रिड कारको मूल्य १ करोड ३४ लाख रुपैयाँ राखिएको छ ।

विद्युतीय कारको लर्को 

यसअघि नै बजारमा बिक्री भैरहेका महिन्द्राको ईटूओ र इभेरिटो, कियाको सोल ईभीसहित यसपटकको अटो शोमा नयाँ विद्युतीय कार पनि राखिएको छ ।

शोमा सिप्रदी ट्रेडिङले पहिलोपटक टाटाको विद्युतीय गाडी सार्वजनिक गर्नेछ । टाटा टिगोर ईभी शोमा सार्वजनिक गर्ने तयारी छ । एकपटक चार्ज गर्न ३ घन्टा लाग्ने र यसले १ सय ३० किलोमिटर यात्रा गर्न सकिनेछ ।

हुन्डाई कोना अटो शोको अर्को आकर्षण हो । हुन्डाई मोटर्सका नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले यो गाडी बिक्री गर्न थालिसकेको छ । तर नाडा अटो शोमा भने पहिलोपटक यो गाडी सार्वजनिक भएको छ । एकपटक चार्ज गर्दा यो गाडी ३२०–३५० किलोमिटरसम्म गुड्न सक्छ ।

यसअघि सियोल ईभी बेचेर उत्साहित भएको कन्टिनेन्टल ट्रेडिङले यसपटकको अटो शोमा कियाको निरो प्रदर्शनीमा राखेको छ ।

एकपटक चार्ज गरिसकेपछि यो गाडी ४ सय ८० किलोमिटरभन्दा धेरै गुड्न सक्ने किया कम्पनीको लागि नेपाली विक्रेता कन्टिनेन्टल एसोसिएट्सका मन्जित पोख्रेलले जानकारी दिनुभयो ।  यो गाडी एक महिनामा १ सय वटा निरो बिक्री भैसकेका छन् । यसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

अटो शोमा एमजी कम्पनीको  विद्युतीय गाडी पनि प्रदर्शनीमा राखिनेछ । एमजी मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले उद्घाटनको दिन एमजी जेडएस ईभी प्रदर्शनीमा नराखिए पनि बुधबार भने प्रदर्शनीमा राखिने जनाएको छ । पारामाउन्ट मोटर्सका अनुसार यो गाडी एकपटक चार्ज गरिसकेपछि ३ सय ५० किलोमिटरभन्दा धेरै कुद्न सक्छ ।

यस्तै यसअघि नै नेपालमा विद्युतीय कार बिक्री गरिरहेको चिनियाँ कम्पनी बीवाईडीले पनि नाडा अटो शोमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । बीवाईडी ले एम–३ गाडी सार्वजनिक गरेको छ । यस्तै ई सिक्स पनि बिक्री भैरहेको छ ।

यस्तै बीवाईडीकै मिनी मल्टी युटिलिटी भेहिकल एमपिभी एम–३ विद्युतीय गाडी पनि सार्वजनिक भएको छ । यो गाडी ५ सिटर र ७ सिटर विकल्पमा उपलब्ध छ । यसको सुरुवाती मूल्य झण्डै ४५ लाख रुपैयाँ तोकिएको छ ।  बीवाईडी एम–३ ले एक पटकको फुल चार्जमा ३५० किलोमिटर माइलेज दिनेछ 

यस्तै चिनियाँ कम्पनी दायुका विद्युतीय कार पनि नाडा अटो शोमा राखिएको छ ।  दायुका ३ वटा मोडल अटो शोमा राखिएको छ । दायुका कारको मूल्य १३ देखि १५ लाख रुपैयाँसम्म तोकिएको छ ।

थप तस्बिरहरु हेर्नुहाेस्

तस्बिर - विकास लामा/उज्यालाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया