वारि घर पारि विद्यालय: सुनकाेशीमा पुल नहुँदा जंगलमै गाेठ बनाएर बस्छन् विद्यार्थीहरु

 भदौ १२, २०७६ बिहीबार १५:५:० | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछाप र सिन्धुली जोड्ने सुनकोशी नदीमा पुल नहुँदा खाँडादेवी गाउँपालिका–३, भिरपानी कोथवेका बालबालिका जंगलमै बास बसेर विद्यालय जान बाध्य छन् ।

कोथवेमा परम्परादेखि कोशी किनारमा बसोबास गर्दै आएका ६० घरधुरी सिमान्तकृत माझी समुदायका बालबालिका सुनकोशी नदी तरेर छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिका-३, झाँगाझोलीमा रहेको श्री मावि गुटबजारमा जान बाध्य भएका हुन् ।

हिउँदमा पानी संग्लो हुने र कोशी सानो हुँदा ट्युबमार्फत वारपार गर्ने गरे‍ पनि बर्खामा कोशी ठूलो हुनेे हुनाले कोथवेको जंगलमा गोठ बनाएर बास बसी भाेलिपल्ट विद्यालय जान बाध्य भएको कोथवेकी छात्रा शुसीला माझी बताउँछिन् । 

उनले भनिन्, ‘हाम्रो घर कोशीपारि छ, कोशीमा पुल छैन, घर नजिकै माध्यमिक तहको विद्यालय छैन्, धेरै जनाले विद्यालय नजिकै नभएका कारण गाउँमा भएको प्राथमिक तहपछि पढाइ छाडेर बसेका छन् ।’ 

जंगलको बीचमा रहेको खुल्ला गोठमा माझी समुदायका १३ जना किशोरी बस्ने गरेका र राति डरका कारण को बीचमा सुत्ने भन्ने विषयमा विवाद हुने गरेको श्री माविमा कक्षा १० मा अध्ययनरत छात्रा बिमला माझी बताउँछिन् ।

उनका अनुसार ८ देखि १० कक्षासम्म पढ्ने बालिकाहरुमध्ये २ जना मात्र उमेरले ठूला छन् । रातभर जंगलमा तर्साउने गरेकाले उनीहरु डराउँछन् । जंगलको बीच र एकान्तमा भएकाले कोही केटा मान्छे आउने हो कि भन्ने डर एकातिर हुन्छ भने अर्कोतिर जंगली जनावरले मार्ने हो कि भन्ने डर हुन्छ । उनीहरु रातभर निदाउँदैनन् । 

सुनकोशीमा पुल नहुँदा त्यहाँका माझी समुदाय काठको डुङ्गाबाट वारपार गर्ने गर्दथे । पछिल्लो समय डुङ्गा बनाउने काठ पाइन छाडेपछि उनीहरु ट्युबको माध्यमबाट वारपार गर्दछन् । घर नजिकै पुल नहुँदा त्यहाँका विद्यार्थीहरु २ घण्टा टाढा रहेको भिरपानीको सित्खा भन्ने ठाउँको झोलुँगे पुल तरेर सिन्धुलीको रातामाटामा पढ्न जाने गरेका थिए ।

अहिले पुलतिर जाने गोरेटो बाटो पनि मध्यपहाडी राजमार्ग निर्माणका क्रममा माथिबाट झारेको माटोले अवरुद्ध भएपछि उनीहरु जंगलमा नै बास बस्न बाध्य भएका हुन् । कोशीमा पुल नभएका विषयमा पटकपटक कुरा ‍उठाए पनि नेताहरु चुनाव जितेपछि नफर्किएका कोथवेकी स्थनीय ज्ञानु माझी बताउनुहुन्छ । 

माझी समुदायको खेतीयोग्य जमीन सुनकोशी पारी सिन्धुली जिल्लामा छ । २०३७ सालतिर कोशी सिन्धुली जिल्लाको रातामाटा धार हुँदै बग्ने गरेकाेमा पछि धार परिर्वतन गरेर रामेछापको कोथवेतर्फ गएपछि माझी समुदायको खेतीयोग्य जमीन सिन्धुलीपटि परेको हो । त्यस क्षेत्रमा झण्डै १ हजार रोपनी खेतीयोग्य जमीन रहेको छ । 

कोशीमा पुल नभएर हैरानी खेप्दै आएका माझी समुदायले पुलका लागि गाउँपालिकाको कार्यालयमा निवेदन पेश गरेमा आवश्यक पहल गर्ने खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर तामाङले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया