मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डाइकले जिते युरोपेली वर्ष खेलाडीको अवार्ड

 भदौ १२, २०७६ बिहिबार २३:२३:४२ | एजेन्सी
unn.prixa.net

च्याम्पियन्स लिग साविक विजेता लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकले यस वर्षको यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

गत सिजन भान डाइकले लिभरपुलका लागि च्याम्पियन्स लिगको उपाधि दिलाउन रक्षापंक्तिमा निर्णायक प्रदर्शन गरेका थिए । नेदरल्याण्ड्सलाई यूईएफए नेसन्स लिगको उपविजेता बनाउन पनि उनको योगदान उत्कृष्ट थियो । लिभरपुल गत सिजन प्रिमियर लिगमा पनि दोस्रो भएको थियो । 

युरोपको उत्कृष्ट डिफेन्डर पनि चुनिएका भान डाइकले विश्व फुटबलकै दुई महान खेलाडीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । 

रोनाल्डोले इटलीयन सिरी एमा युभेन्टसलाई दुई महत्वपूर्ण उपाधि दिलाएका थिए भने पोर्चुगललाई युईएफए नेशन्स लिगको उपाधि दिलाउन पनि निर्णायक भूमिका खेलेका थिए । 

लियोनल मेस्सीको कप्तानी बार्सिलोनाले ला लिगाको उपाधि उचालेको थियो । च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित बार्सिलोनाका लागि मेस्सीले सर्बाधिक गोल गरेका थिए । 

महिलातर्फ इंग्लिस स्ट्राइकर लुसी ब्रोन्जले महिलातर्फ युईएफए उत्कृष्ट महिला वर्ष खेलाडीको पुरस्कार जितिन् ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया