वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार

 भदौ २०, २०७६ शुक्रबार १०:५८:२५ | केसी लामिछाने
unn.prixa.net

तस्बिर : रासस

पर्सा – वीरगञ्जको गणेशमानचौकमा शुक्रबार बिहान १५ वर्षीया एक किशाेरीमाथि एसिड (तेजाब) प्रहार भएको छ । 

विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी किशाेरीमाथि २ जना युवकले तेजाब प्रहार गरेका हुन् । 

तेजाबबाट किशाेरीको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको छ । 

तेजाब प्रहारबाट घाइते भएकी किशाेरीको नारायणी अस्पतालमा उपचार हुन नसकेकाेले काठमाण्डाैका लागि रिफर गरिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

किशोरीमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । 

बिहान ६ बजे विद्यालय जान लागेकी किशाेरीमाथि सम्सादले एसिड प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

उहाँले किशाेरीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताउनुभयो । किशोरी वीरगञ्जको त्रिभुवन हनुमान माध्यमिक विद्यालायको कक्षा ९ मा अध्ययनरत थिइन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया