‘मेरो साम्राज्यको मै महारानी’

 भदौ २८, २०७६ शनिबार १०:४८:१९ | दीपा तिमल्सिना
unn.prixa.net

त्यतिबेला अझै धेरै खुशी लाग्छ, जब महिला आफूलाई माया गर्न सिक्न थाल्छन्, त्यतिबेला झनै धेरै खुशी लाग्छ जब महिलाले महिलालाई आफूहरुलाई माया गर्नुपर्छ है भनेर सिकाउन थाल्छन् ।

आफूलाई माया गर्न थाल्नुहोस् अरुले सम्मान गर्न थाल्नेछन् । यसको उदाहरण हो लक्ष्मी शर्मा । लक्ष्मी शर्मा अर्थात संघर्षको अर्को नाम । उहाँको नाम लक्ष्मी पनि कसैले त्यत्तिकै जुराइदिएको रहेछ । ‘गाईगोठमा जन्मिएकी यसको नाम अरु के राख्ने लक्ष्मी नै राखिदिउँ’, कसैले भन्यो । धेरै कुरा जीवन भोगाइबाट सिक्दै अहिले ७० वर्ष पुग्नुभयो । यो उमेरसम्म आइपुग्दा सोच्दै नसोचेका विपद्ले घेर्‍यो । तर न उहाँ डग्मगाउनु भयो न हिम्मत नै हार्नुभयो ।

सोचेभन्दा धेरै गाह्रो थियो जीवन । विकल्प पनि त थिएन यसलाई अँगाल्नुको । बालापान मावलमा बित्यो । ६ वर्ष टेक्नासाथ आएको प्रस्तावले उहाँ अचम्मितसँगै दङ्ग पर्नुभयो । ‘सडकतिर बग्गीमा अरु सवार देख्दा खुब बग्गी चढ्न मन लाग्थ्यो, यो तिर्सना यति छिट्टै मेटिने भयो भनेर खुशी भएँ’, विगत सम्झिँदै शर्माले भन्नुभयो ।

राजा त्रिभुवनकी कान्छी बहिनी ‘बुनु महारानी’को सुसारेको रुपमा उहाँ दरबार छिर्नुभयो । प्रवेशकै क्रममा उहाँ बग्गीमा चढ्ने सपना पूरा हुनेमा दङ्ग हुनुहुन्थ्यो । दरबारमा त्यति सानै उमेरमा के काम गर्नु पर्ने हो भन्ने पीरले भन्दा पनि बग्गी चढ्ने रहरले उहाँलाई तान्यो । दरबार पसेपछि त्यहाँको चाल चलन र रीतिरिवाजले उहाँ छक्कै पर्नुभयो ।

लवाइखुवाइ, भाषा, शब्द चयन अनि प्रस्तुति दरबारमै सिकेको  । जुन अहिले पनि उतिकै उपयोगी बनेको छ ।  दरबार प्रवेशपछि फेरि निस्कन मन थिएन । तर भनेजसो भएन । बुनु महारानीको निधनपछि ११  वर्षको उहाँ फर्किनुभयो, आफ्नै घर ।

जसोतसो दुई वर्ष बित्यो । १३ वर्षमा बिहेको तयारी भयो । नयाँ लुगा र हातमा कल्ली लगाउन पाउने रहरले विवाहलाई स्वीकारियो । तर, रहरै रहरले बुनेको सुन्दर सपनाको घर ९ वर्षमै भत्किदियो । २२ वर्षको उमेरमा पुग्दा ३ छोरीको आमासँगै उहाँको परिचय बन्यो – लोग्नेले छोडेको स्वास्नी । सुत्केरी भएका बेला अस्पतालमा बसिरहँदा श्रीमानले प्रेमिका लिएर आउँदा को भक्कानिँदैन र ? लक्ष्मी शर्माको जीवनमा पनि त्यस्तै विडम्बना आइलाग्यो ।

स्वास्नी मान्छे मात्रै हुँदा जति सरल लोग्नेले छोडेको स्वानी हुँदा नहुने रहेछ । लोग्नेले छोडेपछि आफ्ना भावनासँग समाजले पनि सिँगौरी खेल्दोरहेछ । काटेर फालेको मुढा जतिकै लाग्यो उहाँलाई आफ्नो शरीर । ‘जीवन कि मृत्यु’ त्यतिबेला अधिकांश समय उहाँको मानसपटलमा यही आउँथ्यो ।

संघर्षको पहिलो कदम

जीवनसँगै दैनिकी फेरियो । जीवनको अर्को अध्याय सुरु भयो । तीन छोरीको जिम्मेवारी, थाप्लोमा हात राखेर पक्कै पूरा गर्न सकिदैन थियो । उहाँ विदेशी बस्ने घरतिर कामका लागि जानुभयो । संयोगले काम पनि मिल्यो । पुराना दिन सम्झेर त्यति आँसु खर्चिनु परेन ।

फ्रान्स, जर्मनी अनि अमेरिकाका नागरिकको घरमा घरेलु कामसँगै दिनको सुरुवात र अन्त्य । आमाको साथमा छोरीहरु पनि हुर्किँदै थिए । एक दिन छोरी बिरामी हुँदा बिदा पाइएन, आवेगमा उहाँले ‘गोरा’को चाकडी गर्दिनँ भनेर तुरुन्तै छोड्नुभयो जागिर ।

आयस्रोतको मुख बन्द भयो । तर पेटको आकार भने बढ्दै थियो । हुर्कँदै गरेका छोरीलाई के खुवाउने यही चिन्ताले फेरि गाँज्यो । लक्ष्मी शर्माले फेरि काम खोज्नुभयो । फुर्सदमा पेन्टिङ गर्यो, ह्याण्ड पोस्टकार्ड बनाएर कुटनीतिज्ञलाई बेच्यो अनि थाङ्का बनायो । आयस्रोत  बिस्तारै बढ्दै गयो ।

देशकै पहिलो टेम्पो चालक

नोकरी खोजेर गरिरहन मन मर्दै गयो । टेम्पो चलाउने सोच आयो । तुरुन्तै साइँली आमासित १० हजार रुपैयाँ ऋण लिनुभयो । यो २०३७ सालतिरको कुरा हो ।  ५ हजार रुपैयाँमा किनेको टेम्पाे मर्मत गर्न थप दुई हजार लाग्यो ।

सात हजारमा सेकेण्ड ह्याण्ड टेम्पु नयाँ बन्यो । अनि लक्ष्मी शर्मा बन्नुभयो ९ नम्बरको टेम्पू चालिका ।आँटले फेरि पनि काम गर्‍याे । लक्ष्मी शर्मालाई दुई जना टेम्पो साहूले हिम्मतवाली भन्दै आफ्नो टेम्पो किस्तामा दिए । अर्को एउटा टेम्पो फेरि किन्नुभयो । लगत्तै नारायणहिटीमा बोलकबोलमा ३२ हजार तिरेर अर्को टेम्पो पनि किन्नुभयो ।

टेम्पोको मूल्य यति पर्दैन थियो, तर उहाँलाई पुरुष व्यवसायीको हेपाइको ओखती भनेको नै त्यही टेम्पाे लाग्यो र जोखिम उठाएरै किन्नुभयो  । परिचय फेरियो । टेम्पाे चालकबाट उहाँ साहु बन्नुभयो । तर, आफ्ना टेम्पो चालकले दिएको दुःख र उनीहरुको रस्साकस्सी भने सम्झन लायक रहेन । त्यसले पनि उहाँलाई अनेकौँ दुःख दियो । अनाहकमा गुण्डाहरुको कुटाइ त छँदै थियो । त्यसमाथि भर्खरभर्खर कलाकारितामा लाग्दै गरेकी छोरी जुनू शर्मालाई कुनै वरिष्ठ कलाकारले ‘तिमी त टेम्पो ड्राइभरकी छोरी पो रहेछ्यौ’ भनेर हेपेछन् ।

अन्तर्राष्ट्रिय स्तरमा उद्योगको सुरुवात, भैँसीको हड्डीबाट टाँक

टेम्पो व्यवसायलाई छोड्दै लक्ष्मी शर्मा उद्यमतिर जुट्नुभयो । २०४३ सालमा ‘लक्ष्मी उड क्राप्ट’ दर्ता गरेर उद्योग खोल्नुभयो । ६ वर्षको उमेरमा दरबार छिर्दा सबै रेखांकन लक्षिणयुक्त  भन्दै थाहै नपाई पास भएकी उहाँ जीवनको भाग्यरेखामा भने पटक पटक ठोक्किनुभयो ।

खेर फालिएका राँगा र भैँसीको सिङ र हड्डीलाई उहाँले सदुपयोग गर्नुभयो । यसलाई टाँक बनाउन प्रयोग गर्नुभयो । भारतबाट ६ जनालाई झिकाएर उद्योगलाई अगाडि बढाउनुभयो । कुरा उठ्यो स्वदेशीलाई काम दिनुपर्दैन ? उहाँले नेपालीलाई पनि सीप सिकाएर जागिर दिनुभयो  । फल लाग्ने र खाने बेलामा उद्योगमा राजनीति पस्यो, अनि त्यही भयो जुन कल्पनासमेत गरिएको थिएन । लक्ष्मी शर्माको आश र भरोसाका शिखर फेरि पनि मुढा जस्तै डङरङ्ग ढल्यो ।

२२ वर्षको उमेरमा पाएको पीडा फेरि बल्झिए जस्तो भयो । आफैले आफ्नो भाग्य कोरेकी लक्ष्मीलाई ऋणै ऋणले थिच्यो । धेरथोर कमाएको पैसाले जोडेको जग्गाजमिन बेचेर ऋण तिर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘मेरो फलेको उद्योगमा भूत लाग्यो, अलिअलि जोडेको जग्गाजमिन बेचेर मन्छिएँ । अहिले हाई सन्चो छ ।’

बिस्तारै ढलेको उद्योगले गाँज हाल्दै छ । अन्तर्राष्ट्रिय स्तरमा उद्योग झाँगिदै गयो । आमाको साथ छुट्यो (बित्नुभयो) । पीरै पीरले लक्ष्मी शर्मालाई सुगर र थाइराइडको अर्का पीरलो पनि थपिएको छ ।

अनि दुःखलाई भुल्न साधनामा लाग्नुभयो, शास्त्रीय संगीतमा भुल्नुभयो, योग गर्नुभयो । अहिले जीवन आनन्दको छ ।  छोरीहरु हुर्किएर, आ–आफ्नो काममा छन् ।  
जीवनमा ३ दिन मात्रै विद्यालय गएकी लक्ष्मी शर्मा अहिले बीबीएका विद्यार्थीलाई पढाउने गेस्ट लेक्चरर हुनुहुन्छ । सडकका कुकुरको व्यवस्थापन गर्ने काठमाण्डौ एनिमल ट्रिट सेन्टर क्याटमा आबद्ध हुनुहुन्छ । उहाँ क्याटकी अध्यक्ष समेत हुनुहुन्छ ।

७० वर्षको उमेरमा शर्मा सामाजिक काममा पनि उतिक्कै सक्रिय हुनुहुन्छ । ढलेको आफ्नो जीवनलाई आफ्नै बलबुताले उठाउनुभयो । छोरीहरुले उच्च शिक्षा पाए । सयौँलाई रोजगार दिनुभयो । अहिले सामाजिक अभियन्तासमेत हुनुहुन्छ । मर्न नदिएको आशा र भरोसाले उहाँलाई आज आफ्नो सपना र लक्ष्य दुवैमा पुर्‍याएको छ ।

लक्ष्मी शर्मासँगकाे कुराकानी सुन्नुहाेस्

अन्तिम अपडेट: कात्तिक २९, २०७६

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया