त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई जहाज अवतरण हुन थाले

 भदौ ३१, २०७६ मंगलबार १७:५२:२५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढ घण्टा अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  अवतरण खुल्ला गरिएको छ ।

‘भिजिबिलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुवैतर्फका उडान भने रोकिएको थिएन ।
    
डेढ घण्टापछि अवरुद्ध अवतरण सुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एअरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै  ‘होल्ड’ भएका थिए ।

कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए । यस विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करीब ३०० आन्तरिक उडान–अवतरण हुँदैआएको छ ।

यसैबीच मौसमको खराबीका कारण लुक्लाबाट काठमाण्डौका लागि उडेका सात हेलिकोप्टर विभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन् ।

काभ्रेको पाँचखालमा चार र सिन्धुलीको नेपालथोकमा तीन हेलिकोप्टर अवतरण भएका काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलिकोप्टरमा सवार यात्रु सकुशल छन् । ती यात्रु अधिकांश विदेशी हुन् ।

सम्बन्धित समाचार

 


अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया