गान्धीले हिटलरलाई लेखेको पत्रमा किन ‘मित्र’ भनेर सम्बाेधन गरे ?

 असोज १५, २०७६ बुधबार १५:२१:५१ | एजेन्सी
unn.prixa.net

‘प्रिय मित्र,

केही मेरा साथीहरु चाहन्छन् कि म तपाईँलाई चिठी लेखुँ तर मलाई लाग्छ कि यो गल्ती हुनेछ । तर केही छन्, जो चाहन्छन् कि म धेरै बढाइचढाइ नगरिकन आफ्ना कुरा तपाईँसँग राखुँ ।

यो समय तपाईँ त्यस्तो व्यक्ति हो, जसले मानवताका लागि युद्ध (विश्व युद्ध) रोक्न सक्नुहुन्छ । यसको मूल्य तपाईँले अवश्य नै चुकाउनु भएको होला ? फेरि पनि तपाईँ युद्धलाई जानेर या बुझेर अस्वीकृत गर्ने व्यक्तिको अपिल सुन्नुहुन्छ ?' तपाईँको साथी, एम. के. गान्धी । 

दोस्रो विश्वयुद्ध भयावह नहोस् भनेर महात्मा गान्धीले २३ जुलाई १९३९ मा जर्मन तानाशाह हिटलरलाई यो चिठी लेखेका थिए । यसपछि उनले २४ डिसेम्बर १९४९ मा हिटलरको नाममा अर्काे एउटा चिठी लेखेका थिए, जसमा युद्धलाई परित्याग गर्ने र अहिंसा, शान्ति, सत्याग्रह जस्ता कुरा लेखिएको थियो । 

तर रिपोर्टका अनुसार बेलायती व्यवस्थाले ती दुवै चिठी हिटलरसम्म पुग्न पाएन । उता ऐतिहासिक रुपमा हिटलरले महात्मी गान्धीलाई कुनै पनि पत्र लेखेनन् या कुनै जवाफ दिएनन् । अब यी पत्रहरुलाई कसरी लिन सकिन्छ ? गान्धी र युद्धलाई कसरी बुझ्नुपर्छ ?

के हिटलर गान्धीको हत्या चाहन्थे ? 

युद्धलाई लिएर कुरा गर्नुअघि यो जान्नु जरुरी हुन्छ कि हिटलर र गान्धी त्यस समयको दुई विरोधी ध्रुव थिए । एकातर्फ गान्धीले दुइटा पत्रमा हिटलरलाई ‘मित्र’ सम्बोधन गर्दा हिटलरले गान्धीका बारेमा के सोचे ? कोएन्राड अल्स्टको एउटा लेखलाई मान्ने हो भने हिटलरको मनसाय गान्धीलाई सिद्ध्याउनु थियो । भारतका गभर्नरसमेत भैसकेका इरविनसँगको सन् १९३७ को एक बैठकमा हिटलरले बेलायतले आफूलाई साथ दिएको खण्डमा बेलायती शासन बचाउन साथ दिने बताएका थिए । 

गान्धीलाई यसबारेमा थाहा नहुँदा उनले हिटलरलाई ‘मित्र’ भनिरहेका थिए । यदि गान्धीजस्ता मानवतावादीले हिटलरलाई मित्र भनेर सम्बाेधन नगरेको भए ठूलो प्रश्न सिर्जना हुन सक्थ्यो । कारण थियो, गान्धी युद्ध नचाहने शान्तिका पक्षधर थिए । 

युद्धको बीचमा गान्धीको जिन्दगी 

जब गान्धीले एक सामाजिक कार्यकर्ता र जननायकको रुपमा आफ्नो छवि बनाउन सुरु गरेका थिए, त्यहाँबाट नै गान्धीको सामाजिक र राजनीतिक जिन्दगी सुरु हुन्छ । रंग र जातिवादविरुद्धको युद्धबाट सुरु भएको गान्धीको जीवन लगातार युद्धमा नै बित्यो । प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको बीच अंग्रेजी शासनको विरुद्ध भारत आफै युद्धरत थियो । गान्धीको जिन्दगी लगातार युद्धसँग जोडिए पनि उनको विचार, शान्ति र अहिंसाको सिद्धान्तमा कुनै आँच आएन र अझ मजबुत हुँदै अघि बढिरहे । 

यो कुरालाई सम्झिनुको अर्थ विश्वमा जीवन विरोधी विचार नै द्वन्द्व हो । एउटा कठोर सत्यता हो, एउटा आदर्श सपना हो । 

गान्धी जयन्ती र युद्धको स्थिति

बुधबार २ अक्टोबरमा गान्धीको जन्म जयन्तीको १५० औँ वर्षगाँठ मनाइँदैछ । तर गान्धी जयन्ती मनाइरहँदा उनको आदर्शलाई कतिले अनुशरण गरे त ? परिस्थिति पनि यस्तै छ, अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ । चीनले कम्युनिष्ट शासनको ७०औँ वर्ष मनाइरहँदा मिसाइलको प्रदर्शन गर्‍यो, जसले आधा घण्टामा अमेरिकालाई निशाना बनाउन सक्थ्यो । 

अमेरिका र इरानबीच पनि युद्धको स्थिति बनेको छ । भारत र पाकिस्तानबीच मनमुटाव छ र परमाणु आक्रमणसम्मको आशंका उब्जेको छ । उता कोरियाली देश पनि युद्धलाई लिएर बयान दिँदै आइरहेका छन् । युद्धको पृष्ठभूमिमा नै शान्ति, अहिंसा र सौहार्दको कुरा गर्न सकिन्छ, यसका लागि गान्धीलाई पढ्नुभन्दा धेरै सम्झिनु जरुरी छ । 

हिटलरलाई लेखिएको दोस्रो पत्रमा गान्धीको शब्द थियो, ‘अहिंसाको बाटोमा हार्ने भन्ने कुरा नै हुँदैन, यो ‘गर या मर’जस्तो स्थिति हो, जसमा कोही पनि घाइते हुँदैनन् ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया