दुई समूहका १० जनाले शरद ऋतुमा सगरमाथा आरोहण गर्ने

 असोज १६, २०७६ बिहीबार ८:४४:४४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – शरद ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष दुई समूहका १० जनाले अनुमति लिएका छन् ।

पछिल्लो तीन वर्षको शरद ऋतुमा आरोहणका लागि कसैले अनुमति नलिएकोमा यस वर्ष दुई समूहले अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा ९ र अर्कोमा १ जना गरी १० जना रहेका छन् ।

सगरमाथा आरोहणको उत्तम समय बसन्त ऋतुलाई लिइने गरिन्छ । शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेन शरद ऋतुमा नै सगरमाथा शिखरमा पुगेका थिए । त्यसयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ ।

सन् २०१९ कै बसन्त ऋतुमा विभिन्न समूहका ३ सय ८१ जनाले आरोहण अनुमति लिएका थिए भने आरोही र उनीहरुका सहयोगीसहित करिब ७ सय जनाले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणको क्रममा ९ जनाको ज्यान गएको थियो । उनीहरुको ज्यान जानुको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिक जाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो ।

उक्त याममा हुने भिड र समस्यालाई शरद ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का बर्षात्सँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ ।

वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प वानसम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने कुनैपनि कार्य गर्दैन । समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार बसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प वानसम्मको बाटो बनाउन सकिने भएपनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ ।

नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिं तामाङले बताए ।

४ करोड बढी राजश्व संकलन

विभिन्न हिमाल आरोहणबाट अहिलेसम्म ४ करोड २८ लाख ४० हजार १ सय ७१ रुपैँया ५७ पैँसा रोयल्टी प्राप्त भएको पनि पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहणको रोयल्टी ऋतु अनुसार फरकफरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ ।

यस्तै, शरद ऋतुमा ५ हजार ५०० डलर र गर्मी समयमा २ हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा १८ हजार २५० रुपैयाँ रोयल्टी तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया