मनहरी गाउँपालिकामा एक वर्षमै साढे चार हजार मिटर पक्की सडक निर्माण

 असोज २२, २०७६ बुधबार ८:२०:१४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिकाले बितेको आर्थिक वर्ष २०७५–०७६ मा ४ हजार ६ सय ७४ मिटर सडक पक्की निर्माण गरेको छ ।

मनहरीका सबैजसो वडामा कुनै न कुनै सडक पक्की निर्माण गरिएको छ । कच्ची सडकका कारण स्थानीयले सास्ती खेप्नुपरेपछि सडक पक्की निर्माण गर्ने अभियान अनुसार साढे ४ हजार मिटरभन्दा बढी सडक पक्की निर्माण गरिएको हो ।

गाउँपालिका भित्रमा सडकको स्ल्याब ढलान ४ हजार १ सय ५० मिटर र कालोपत्रे गर्ने काम ५ सय २४ मिटर गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

पहिले ट्रयाक खोलिसकिएका सडकलाई सफा गर्ने र धेरै गाडी गुड्ने सडकलाई प्राथमिकतामा दिएर पक्की बनाउँदै लगिएको उहाँले बताउनुभयो । गाउँपालिकाले ३० हजार ८ सय मिटर सडकको नयाँ ट्रयाक खाेल्ने काम पनि गरेको छ । यसैगरी २१ हजार ५ सय ५० मिटर सडकमा ग्राभेल गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

गाउँपालिका क्षेत्रमा ९ वटा बक्स कल्भर्ट, २२ वटा ह्युमपाइप कल्भर्ट, १ वटा कज वे, एउटा आरसीसी कल्भर्ट निर्माण गरिएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षमा पनि सडक निर्माणले प्राथमिकता पाएको छ । धेरैजसो बजेट सडक निर्माणका क्षेत्रमा खर्च हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया