वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज ह...
चैत ३, २०८१ आइतबार
काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर पुनर्निर्माण गर्ने लाभग्राहीलाई दोस्रो किस्ता लिन तोकेको समयसीमा आज सकिँदैछ ।
गएको चैतमा प्राधिकरणको निर्देशक समितिले दोस्रो किस्ताको अनुदान लिने समयसीमा तीन महिना थप गरेको थियो । तर अझै पनि झण्डै साढे २ लाख भूकम्प प्रभावितले दोस्रो किस्ता लिन सकेका छैनन् । अहिले प्राधिकरण नेतृत्वविहीन भएकाले तत्काल निर्देशक समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले म्याद थपबारे अन्यौल भएको छ ।
तोकिएको समयसीमाभित्र घर बनाउन सुरु नै नगरेका र अहिले बनाउँदै गरेका तर दोस्रो किस्ताका लागि निवेदन दिन नभ्याएका भूकम्प प्रभावित अलमल परेका छन् । त्यस्तै मनसुनको समय भएकाले जेठ र असारमा निजी आवास पुनर्निर्माणको काम प्रभावित भएको छ । ८ लाख ७ हजार भूकम्प प्रभावितमध्ये अहिले सम्म २ लाख ४५ हजार घर बनेको प्राधिकरणको तथ्याङक छ ।
५ लाख १० हजार बन्ने क्रममै छन् । प्राविधिक, डकर्मी, निर्माण सामग्री, अभाव जस्ता पुनर्निर्माणका विभिन्न जटिलताकै कारण भूकम्प प्रभावितले तोकिएको अवधिमा दोस्रो किस्ता लिन सकेका छैनन् ।
उनीहरुलाई घर बनाउने काम नरोकी अघि बढ्न पनि प्राधिकरणले आग्रह गरेको छ । एकहप्ता अघि नै समयसीमा थप गर्नेबारे छलफल गर्ने तयारी भए पनि प्रमुख कार्यकारी अधिकृत युवराज भुषाल पदमुक्त भएकाले बैठक बस्न नसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले समयमै घर निर्माणको काम सुरु होस् भन्ने उद्धेश्यले समयसीमा तोकेको तर सबै भूकम्प प्रभावितले काम सुरु नगरेकाले समयसिमाबारे पुनर्विचार हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।
उहाँले भूकम्प प्रभावित जिल्लामा रहेका कार्यान्वयन इकाई, प्राविधिक र प्रभावितलाई काम गर्न समेत आग्रह गर्नुभएको छ । दोस्रो किस्ता लिन तोकेको म्याद सकिएकै कारण भूकम्प प्रभावित अनुदान लिनबाट बञ्चित नहुने तर अनुदान लिएर पनि नियतवश घर नबनाउनेहरुले रकम फिर्ता गर्न सक्ने प्राधिकरणले प्रस्ट पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।