राेमानियाका निरंकुश तानाशाह: जसकाे त्रास उनकाे मृत्युकाे वर्षाैँपछि पनि जनताकाे आँखामा कायमै थियाे

 कात्तिक २, २०७६ शनिबार १६:२९:४४ | एजेन्सी
unn.prixa.net

६० को दशकमा रोमानियाका निकोलाई चाउचेस्कुले लगातार २५ वर्षसम्म आफ्नो देशका सञ्चारमाध्यमलाई आवाज निकाल्न दिएनन् । यतिमात्र नभइ उनले खाद्यान्न, पानी, तेल र औषधिमा पनि कर लगाए । 

जसका कारण हजारौँ मानिसहरु रोग र भोकमरीको शिकार भए । उनले आफ्नो जासुस प्रहरी ‘सेक्योरिटेट’ लाई लगातार आममानिसहरु निजी जिन्दगीमा के गरिरहेका छन्, त्यसबारेमा जान्न प्रयोग गरेका थिए । 

चाउचेस्कुलाई पुरै रोमानियामा ‘कन्डुकेन्डर’ को रुपमा मानिन्थ्यो, जसको अर्थ ‘नेता’ हुन्थ्यो

रोमानियामा भारतीय राजदूतका रुपमा काम गरिसकेका राजीव डोगराले स्थानीयमा चाउचेस्कुको डरका बारेमा खुलासा गरेका छन् । चाउचेस्कुको निधन भएको १० वर्ष बितिसक्दा पनि मानिसहरुमा उनीप्रतिको डर रहेको डोगरा बताउँछन् । 

डोगरा भन्छन्, ‘म आफ्नो पदभार सम्हाल्न रोमानिया पुगेको बेला मैले रोमानियाका मानिसहरु आफ्नै छायाँबाट पनि डराउँथे । उनीहरु सडकमा हिँड्दा पनि पछि कोही आइरहेको छ कि भनेर पटक पटक पछाडि फर्कन्थे ।’

घरको झ्याल खुला राख्न हुकुम 

एक रोमानियाली महिला कार्मेन बुगानका पिता चाउचेस्कुका विरोधीमध्येका एक थिए । जासुस प्रहरी सिक्योरिटेट ले १० मार्च १९८२ मा उनीहरुको गाउँको घरमा छापा मार्यो र आगामी पाँच वर्षसम्म उनीहरुको घरभित्रको एक–एक शब्द रेकर्ड गरियो । 

बुगानले बीबीसीलाई भने, ‘म स्कुलबाट फर्किँदा घरभरि प्रहरी अधिकारी थिए । पुरै घरभरि जासुसी माइक्रोफोन लगाइएको थियो । मेरो पिताले चाउचेस्कुका विरुद्ध पर्चा बाँडेका थिए । त्यस समय मेरा पिता भूमिगत थिए र आमा अस्पतालमा थिइन् ।’

त्यसपछि चाउचेस्कुले जति जाडो मौसम भए पनि घरको झ्याल खुला राख्न आदेश दिएको कार्मेनले बताए । स्थानीय सबैको घरको गतिविधि हेर्न यस्तो आदेश दिइएको थियो । 

ठूलो कदको तस्बिर देखाउन निर्देशन

चाउचेस्कुको उचाइ मात्र पाँच फिट चार इञ्च थियो, यसै कारण उनी रोमानियाका फोटोग्राफरहरुलाई आफ्नो कद ठूलो देखिने तस्बिर खिच्न निर्देशन दिन्थे । 

उनी ७० वर्षको हुँदा पनि उनी ४० वर्षको हुँदा खिचिएको तस्बिर छापिन्थ्यो । चाउचेस्कुकी पत्नीलाई त कुनै सुन्दर महिला आफूअघि उभिएर फोटो खिचेको पनि मन पर्दैनथ्याे । 

एलिनाले धेरै विषयमा फेल भएपछि १४ वर्षको उमेरमा पढाइ छोडे पनि उनी रोमानियाको ‘फर्स्ट लेडी’ बनिन् । त्यसपछि उनले आफूसँग रसायन शास्त्रको ‘पीएचडी’ भएको घोषणा गरेकी थिइन् । यद्यपि त्यो नक्कली डिग्री थियो । 

अरबौँ डलर खर्च गरेर विश्वको दोस्रो ठूलो भवन बनाए 

चाउचेस्कु रोमानियालाई एक शक्तिशाली राष्ट्र बनाउन चाहन्थे । तर यसका लागि जनसंख्या निकै जरुरी थियो । यो उद्देश्य पुरा गर्न उनले गर्भपतनमा प्रतिबन्ध लगाए । 

यही कारण रोमानियामा सम्बन्ध विच्छेद लिन पनि मुश्किल हुने नै भयो । 

उनले राजधानी बुखारेस्टमा अरबौँ डलर खर्च गरेर ‘पिपुल्स हाउस’ बनाए । जसको अहिले बिजुलीको खर्च लाखौँ रुपैयाँमा आउँछ । त्यो भवन बनेको २५ वर्षपछि पनि ७० प्रतिशत कोठा अहिलेसम्म पनि खाली नै छन् । 

यो भवन बनाउन झण्डै १५ हजार मजदुर प्रयोग गरिएका थिए । उनीहरु तीन शिफ्टमा काम गर्दथे । चाउचेस्कुको जीवनी ‘द लाइफ एण्ड इभल टाइम्स अफ निकोलाई चाउचेस्कु’ लेख्ने जोन स्वीनीको किताबमा लेखिएको छ,‘१५ हजार मजदूरका लागि एउटा पनि शौचालय थिएन र उनीहरु मौका मिल्नेबित्तिकै भवनभित्रै शौच गर्थे । ’

दिनमा बीस पटक रक्सीले हात धुन्थे 

स्वीनी अगाडि लेखेका छन्, ‘यो देखेर कतिपय मजदुरहरु हाँस्थे र जासुस प्रहरीले घुरेर हेर्नेबित्तिकै उनीहरु अन्यत्रै हेर्दथे ।’

‘सेक्युरिटेटका एक अधिकारी चाउचेस्कुको जुत्तामा लागेको फोहर सफा गर्न थाले । चाउचेस्कु आफ्नो फोहोर खुट्टा नै लिएर कारको अघि बढे । जहाँ जहाँ उनले टेके, त्यहाँ त्यहाँ फोहर लाग्दै गयो । कसैले एक शब्द पनि बोलेनन् । न कोही हाँस्यो, मानौँ कुनै एटम बम पड्केको थियो ।’

‘कल्पना गर्नुस् सफाइप्रति यति धेरै सजग चाउचेस्कुले संक्रमणबाट बच्न दिनमा बीस पटक रक्सीले हात धुँदा उनको हालत के भयो होला ?’ 

सोभियत संघको खुलेर विरोध

सोभियतको शिविरमा रहेर पनि चाउचेस्कुलाई सोभियत संघलाई दुःख दिन निकै मजा आउँथ्यो । उनी विश्वका नेताहरुलाई आमन्त्रित गरेर सोभियत संघको आलोचना गर्दथे । 

सन् १९६६ मा उनले चीनका राष्ट्रपति चाउ एनलाइलाई रोमानिया बोलाए र फेरि १९६७ मा अमेरिकाका भावी राष्ट्रपति रिचर्ड निक्सन उनको अतिथि बने । 

२१ डिसेम्बर १९८९ मा अन्तिम भाषण

१७ डिसेम्बर १९७९ मा रोमानियाका सैनिकले तिमिस्वारामा प्रदर्शनकारीमाथि गोली चलायो । यसपछि पुरै देशमा प्रदर्शनको आयाम सुरु भयो । 

२१ डिसेम्बर १९८९ मा निकोलाई चाउचेस्कुले बुखारेस्टको बीच भागमा पार्टी मुख्यालयको बालकोनीबाट एउटा जनसभालाई सम्बोधन गरे । भाषण दिएको केही मिनेटमा नै पछाडिबाट सिटी र तालीको आवान आउन लाग्यो । 

तर त्यो क्रम रोकिएन र चाउचेस्कु र उनी पत्नी एलिनाले भिडलाई शान्त रहन भने तर उनीहरुले सुनेनन् । जसका कारण जनसभा केही बेरमा नै झडपमा परिणत भयो । 

क्रान्तिको सुरुवात

यो भाषणलाई टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । भाषण चलिरहँदा टिभिमा दृश्य देखिन छोडेपछि आम मानिसले क्रान्तिको सुरुवात भएको थाहा पाए । 

पुरै देशमा मानिसहरु क्रान्तिमा होमिए । सबै सरकारी भवनमा आक्रमण भयो र चाउचेस्कुको तस्बिर पनि च्यात्न थालियो । चाउचेस्कुले सेक्युरिटेटलाई विद्रोह दमन गर्न आदेश दिए तर पुरै रात उनीहरुले विद्राेहीमाथि गोली चलाए पनि सफल हुन सकेनन् । 

भाग्दै गर्दा लिफ्टमा फसे

अर्काे दिन सेना पनि विद्रोहमा सामेल भयो । रिसाएका प्रदर्शनकारीहरुले पार्टी मुख्यालय घेर्न सुरु गरे । चाउचेस्कु र एलिना हेलिकोप्टरबाट भाग्न बाध्य भए । तर यो प्रदर्शन रोकिएन । 

चाउचेस्कु लिफ्टबाट भवनको छतमा गए, जहाँ उनी एउटा हेलिकोप्टरको पर्खाइमा थिए । चाउचेस्कु लिफ्टमा छिर्ने बित्तिकै उनका सेनाध्यक्ष जनरल स्टैनकुलुस्कु कारमा बसेर रक्षा मन्त्रालयतर्फ हानिए । 

‘सेनाध्यक्षले कारभित्रबाटै सुरक्षा बललाई भवनको रक्षा गर्ने काम रोक्न आदेश दिए । त्यहाँबाट सैनिक हट्ने बित्तिकै क्रान्तिकारीहरु भवनभित्रै पसे । चाउचेस्कु भने भवनभित्रै लिफ्टमा फसेको कसैलाई थाहा भएन ।’

‘चाउचेस्कु अन्ततः लिफ्टको ढोका फोरेर बाहिरिन सफल भए । त्यतिञ्जेलसम्म क्रान्तिकारीहरु पनि छतमा पुगिसकेका थिए । हेलिकोप्टरमा ठाउँ कम भएकोले चाउचेस्कुले पाइलटको घुँडामा बसेर उडे ।’

क्रूर अन्त्य

पाइलटले हेलिकप्टर उडाएपछि राजधानी बुखारेस्टबाहिर एउटा खेतमा चाउचेस्कु दम्पती र उनका एक अंगरक्षकलाई त्यहीँ छोडेर फर्कियो । 

त्यस दिन चाउचेस्कु र उनकी पत्नी एलिनालाई गिरफ्तार गरियो । क्रिसमशको दुई दिनपछि एक सैनिक अदालतमा मुद्दा चलाइयो र उनलाई मृत्युको सजाय सुनाइयो । 

उनीहरु दुवैलाई बाँधेर पर्खालसामु उभ्याइयो । उनीहरुलाई छुट्टाछुट्टै गाेली हान्ने प्रक्रिया थियो तर एलिनाले आफूहरुसँगै मर्न चाहेकाे बताइन् । सैनिकले निशाना ताके र २५ वर्षसम्म रोमानियामा राज गर्ने निरंकुश तानाशाह निकोलाई चाउचेस्कुकाे शरीरमा गाेलीकाे वर्षा भयाे । 

मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सले एक पटक सही भनेका थिए, ‘मानिसहरु आफ्नो इतिहास आफैँ बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुले चाहेको जस्तो बन्दैन ।’

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया