भारत-पाकिस्तानद्वारा एक अर्कामाथि युद्धविराम उल्लंघन गरेकाे आराेप, दुवैतर्फका सैनिक मारिएकाे पुष्टि

 कात्तिक ३, २०७६ आइतबार १९:४४:३९ | एजेन्सी
unn.prixa.net

समाचार संस्था एएनआई र अन्य सञ्चारमाध्यमका अनुसार भारतीय सेनाले पाकिस्तानको नियन्त्रणमा रहेको क्षेत्र (पीओके) को आतंकवादी शिविरमा आक्रमण गरेको जनाएका छन् । जसमा चार अथवा पाँच पाकिस्तानी सेनाको ज्यान गएको बताइएको छ । 

भारतीय सञ्चार संस्था एनडीटीभीले सूत्रको माध्यमद्वारा भनेको छ– कुपवाराकाे तंगधार क्षेत्रमा रहेको नीलम उपत्यकामा चार आतंकवादी लञ्च प्याड तोपको आक्रमणमा मारिएका हुन् । आक्रमणमा अन्य पाँच जना पाकिस्तानी सैनिक घाइते भएका छन् । 

यसबीच पाकिस्तानले भने भारतीय सेनाले जूरा, शाहकोट र नोमश्रीमा कथितरुपमा बिना कारण गोलाबारीपछि जवाफी आक्रमणमा नौ भारतीय सैनिक मारिएको बताएको छ । 

पाकिस्तानका आन्तरिक–सेवा जनसम्पर्क (आईएसपीआर) का महानिर्देशक मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानको जवाफी कारबाहीमा दुई भारतीय बंकर पनि नष्ट भएको बताएका छन् । 

उनले पाकिस्तानी सैनिकको पनि ज्यान गएको स्वीकारेका छन् । यद्यपि एएनआईले भारतीय सेनाको सूत्रको माध्यमबाट ज्यान गुमाउने पाकिस्तानी सेनाको संख्या चारदेखि पाँच हुनसक्ने जनाएको छ । 

भारतीय सेनाले यो कारबाही आइतबार जम्मू–कश्मीरको कुपवाडा जिल्लाको तंगधार क्षेत्रमा पाकिस्तानीसेनाले संघर्ष विराम उल्लंघनको जवाफमा गरेको बताइएको छ । जसमा दुई जवानसहित एक सर्वसाधरणको ज्यान गएको थियो । 

जम्मू–कश्मीर प्रहरीले संघर्ष विराम उल्लंघन र त्यसमा ज्यान गएको पुष्टि गरेको छ । 

गएको अगष्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेजपछि भारत–पाकिस्तानबीच तनाव बढ्दो छ । योसँगै भारत र पाकिस्तानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया