सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोर जी’ विस्तारको कामलाई तीव्रता दिएको छ ।
गएको असोज १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कल गरेर विस्तारित फोर जी/एलटिई सेवाको उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्रीले सुरु गर्दाको दिन फोर जी सेवा ५० शहरमा सुरु भएको थियो । कात्तिक ३ गते आइतबारसम्म यो सेवा झण्डै ८० ठाउँमा सुरु भैसकेको नेपाल टेलिकमले जनाएको छ ।
‘औपचारिक रुपमा ३९ जिल्लाका ७० ओटा नगरपालिका र चार ओटा गाउँपालिकामा यो सेवा सुरु भएको छ, केही ठाउँमा अनौपचारिक रुपमा परीक्षणको काम भैरहेको छ’, टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले उज्यालो अनलाइनसँग भन्नुभयो ।
उहाँले चिनियाँ कम्पनीसँगको सम्झौता अनुसार नै आउँदो माघसम्म देशैभरि फोर जी सेवा पुगिसक्ने पनि दाबी गर्नुभयो । ‘हामीले माघसम्मको सम्झौता गरेका हौँ, अहिलेको कामको गति हेर्दा माघसम्म काम सकिने देखिन्छ’, वैद्यले भन्नुभयो ।
टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाण्डौ र पोखरामा फोर जी सेवा सुरु गरेको थियो । त्यसपछि निजी क्षेत्रका अरु दूरसञ्चार प्रदायकले फोर जी सेवा सुरु गरे पनि टेलिकम भने पछि परेको थियो । गएको माघमा सम्झौता भएबमोजिम एक वर्षभित्र देशैभरि फोर जी सेवा पुर्याउने लक्ष्यका साथ तीव्र गतिमा काम भैरहेको छ । यो सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।
सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गएको माघमा फोर जी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेशन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता भएको थियो ।
टेलिकमले अहिले भैरहेका टु जी र थ्री जी प्रविधिका टावरसँगै फोर जीकै लागि भनेर थप साढे ६ सय नयाँ टावर थप्दैछ । त्यसपछि टेलिकमसँग चार हजार दुई सय ओटा ग्राउण्ड बेस भएका टावर हुनेछन् । सबै गरेर ६ हजार सात सय ओटा टावरमार्फत फोर जी सेवा दिने टेलिकमले जनाएको छ ।
देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनाका साथ काम भैरहेको टेलिकमको दाबी छ ।
के हो फोर जी सेवा ?
कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न फोर जी सेवाको प्रयोग हुन्छ ।
सन् १९८० को दशकमा व्यावसायिक रुपमा सुरु भएको ताररहित वा बिना तारको मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यवसायिक रुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो ।
फोर जी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिन्छ । यसले द्रूत गतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्छ । फोर जीबाट थ्री जीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदण्डले एक सय एमबीपीएस गतिको इन्टरनेट सेवालाई फोर जी सेवा मानिएको छ ।
टेलिकमले अहिले सुरु गरेको फोर जीमा दुई सय ५० एमबीपीएससम्मको गतिमा इन्टरनेट चल्ने जनाएको छ । प्रविधिको रुपमा यो फोर जी मात्रै नभइ फोर र फाइभको बीचको प्रविधि भएको टेलिकमको दाबी छ ।
कसरी गर्ने ‘एक्टिभेट’
टु जी र थ्री जी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिम–कार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास (*400#) डायल गरी फोर जी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोर जी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ ।
थ्री जी तथा टु जीको दरमा नै फोर जी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । टेलिकमले दशैँका अवसरमा आइतबारदेखि नै फोर जी र अन्य सेवामा विशेष छुट दिएको छ । कम्पनीकाअनुसार पहिलो पटक फोर जी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुई सय एमबी डाटा बोनस पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।