दक्षिण कोरियाको जन्मदर झन्डै एक दशकपछि बढ्यो

 फागुन १४, २०८१ बुधबार १५:१३:५३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

गएको वर्ष दक्षिण कोरियाको जन्मदर बढेको छ । दक्षिण कोरियाको जन्मदर गएको वर्ष झन्डै एक दशकमा पहिलो पटक बढेको सरकारी तथ्याङ्कले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सरकारी निकाय तथ्याङ्क कोरियाले बुधवार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कले सन् २०२४ मा प्रति एक हजार जनामा जन्मने शिशुको सङ्ख्या ४ दशमलव ७ प्रतिशत रहेको देखाएको छ, यो सन् २०१४ पछिको पहिलो वृद्धि हो ।

प्रजननदर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या सन् २०२४ मा ० दशमलव ७५ पुगेको छ । यो सन् २०२३ को ० दशमलव ७२ को तुलनामा ० दशमलव ०३ ले बढी हो ।

सन् २०२४ मा दक्षिण कोरियामा दुई लाख ३८ हजार तीन सय जनाको जन्म भएको र यो अघिल्लो वर्षको तुलनामा आठ हजार तीन सय अर्थात् ३ दशमलव ६ प्रतिशतले बढी रहेको प्रतिवेदनलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

जनसङ्ख्याको अध्ययनमा जानकारी राख्ने कोरियाली अधिकारी पार्क ह्युन जियोङले कोभिड–१९ को महामारीपछि विवाहमा वृद्धि हुनुका साथै जनसाङ्ख्यिकीय अवस्थामा आएको परिवर्तनका कारण जन्मदरमा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो एक दशकमा कोरियामा ३० वर्ष उमेर भन्दामाथिका मानिसहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्मदर भएको देशमध्ये एक हो । यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसाङ्ख्यिीय चुनौती प्रस्तुत गर्दछ ।

दक्षिण कोरियाले महिलाहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिर कायम राख्न अर्बाैं डलर खर्च गरेको छ । विशेषज्ञहरूका अनुसार बच्चा हुर्काउने उच्च लागत र सम्पत्तिको मूल्यदेखि प्रतिस्पर्धात्मक समाज कम जन्मदरका प्रमुख कारण मानिन्छन् । कामकाजी आमाहरूले आफ्नो पेशालाई कायम राख्दै घरको काम र बच्चाको हेरचाहको बोझ व्यवस्थापन गर्नु अर्काे प्रमुख कारक भएको उनीहरूको भनाइ छ ।

दक्षिण कोरियाली सरकारले जन्मदर वृद्धिका लागि नगद अनुदान, ‘बेबीसिटिङ’ सेवा र बाँझोपनको उपचारमा सहयोग प्रदान गर्दछ । तर प्रजननदरले अहिलेसम्म आफ्नो दीर्घकालीन गिरावटलाई निरन्तरता दिएको छ ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया