भारत जानेहरुका लागि नेपाल टेलिकमकाे ‘डाटा रोमिङ प्याक’

 कात्तिक ३, २०७६ आइतबार १९:२४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टेलिकमले कात्तिक १ गते अर्थात् गएकाे शुक्रबारदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत जाने मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालनमा ल्याएकाे छ ।

कम्पनीका अनुसार डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका रहेका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ । यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराइएको छ । 

डाटा रोमिङ प्याक दिन अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएकाे हुनुपर्दछ । प्रिपेड ग्राहकहरुले आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा नेपाल टेलिकमकाे मोबाइल एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन सकिनेछ ।

पोष्टपेड मोबाइल प्रयाेगकर्ताले भने रोमिङ सेवा ग्राहक सेवा केन्द्रबाट लिनु पर्नेछ ।

खरिद गरेकै समयदेखि प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरुको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड भइसकेपछि मात्र रोजाइका प्याकहरु नेपाल टेलिकमकाे एप मार्फत अथवा *१४१५# डायल गरी खरिद गर्दा सदुपयोग गर्न सकिने कम्पनीकाे भनाइ छ । 
 
प्याकहरु नेपाल टेलिकमकाे मोबाइल एप मार्फत तथा*१४१५# डायल गरी इन्टरनेशनल सर्भिस मेनुभित्र गएर प्राप्त निर्देशन बमोजिम खरिद गरी प्रयोगमा ल्याउन सकिन्छ । साथै एसएमएस मार्फत पनि प्याकहरु खरिद गर्न सकिन्छ । दैनिक, साप्ताहिक र मासिक प्याकहरु खरिद गर्न क्रमशः INDRM1D, INDRM7D र INDRM28Dलेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।                       
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया