प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान

 कात्तिक ७, २०७६ बिहिबार १३:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गर्नुभएको छ । 

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाकु प्रस्थान गर्नुभएको हो । 

त्यस अवसरमा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृह मन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवास नेम्वाङ, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल तथा नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले बिदाइ गरेका थिए । उहाँलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले सम्मेलनमा ‘बाङडुङ सिद्धान्तलाई आत्मसात गर्दै वर्तमान विश्वमा उचित र पर्याप्त चुनौतीको प्रतिक्रिया दिने’ विषयमा सम्बोधन गर्नुहुनेछ । सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली यसअघि नै बाकु पुगिसक्नुभएको छ । 

प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी लगायतका परराष्ट्र अधिकारीहरुको सहभागिता रहेको छ । 

शुक्रबार र शनिबार बाकुमा हुने सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले सम्मेलनको क्रममा विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली कात्तिक १० गते आइतबार स्वदेश फर्कनुहुनेछ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया