चिनियाँ राष्ट्रपतिको भ्रमणले विश्वमा नेपालको प्रभाव बढ्यो : सञ्चार मन्त्री बाँस्कोटा

 कात्तिक ७, २०७६ बिहिबार १६:४४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले नेपालमा चीनको सकारात्मक प्रभाव रहेको जनाएको छ ।

अमेरिकाले नेपालमा चीनको प्रभाव बढिरहेको आरोप लगाएको बेला सरकारले नेपालका विकास निर्माण र दौत्य सम्बन्ध प्रगाढ बनाउन चीनको प्रभाव बढेको स्वीकार गरेको हो । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालले विभिन्न देशसँगको सम्बन्ध थप बलियो बनाइरहेकोले चीन, भारत, अमेरिकासहित सबै मित्रराष्ट्रसँग सकारात्मक प्रभाव बढ्ने बताउनुभयो ।

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले विश्वमा नेपालको प्रभाव पनि बढेको भन्दै मन्त्री बाँस्कोटाले नेपालको सम्बन्ध फैलिँदै गएको बताउनुभयो ।

फरक प्रसंगमा मन्त्री बाँस्कोटाले विप्लव समूहले वार्ताका लागि सारेका शर्तको कुनै अर्थ नरहेकाले र बिनाशर्त हिंसा छाड्नुपर्ने बताउनुभयो । उहाँले अब जाँतो घुमाएको जस्तो कुरा नघुमाउन र संविधानको दायराभित्र रहेर राजनीति गर्न पनि विप्लव समूहलाई आग्रह गर्नुभयो ।

विप्लव समूहका सबै क्रियाकलाप राष्ट्रघाती भएकाले चन्दा उठाउन, अपहरण गर्न र मान्छे मार्न पाउनुपर्छ भन्ने माग पूरा गर्न सरकारले कल्पना पनि गर्न नसक्ने उहाँले बताउनुभयो ।

यस्तै कलाकारिता सभ्य बन्नुपर्छ भन्ने मान्यतामा सरकार रहेकाले उच्छृङखल खालका गीतसंगीतलाई छाडा छाड्न नसकिने भन्दै मन्त्री बाँस्कोटाले सामाजिक मूल्य मान्यताभित्र रहेर सबैले आफ्नो पेशा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

यस्तै सरकारले कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिएको र सहसचिव राममृष्ण सुवेदीलाई सचिवमा बढुवा गरिएको जानकारी दिनुभयो  । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया