सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
गोरखा – उन्नत जातको भन्दै गरिमा नामको धानको बीउ लगाएका गोरखाको पालुङटार नगरपालिकाको विभिन्न क्षेत्रका किसान फल नलागेपछि चिन्तित बनेका छन् ।
पालुङटारको वडा नम्बर–५, मा पर्ने गौंडाबगर र चारकुने फाँटका अधिकांश कृषकले लगाएको धानमा बाला नलागेको हो । असोज अन्त्यसम्ममा पनि धानमा बाला नलागेपछि किसान निराश भएका वडा सदस्य संसरी तामाङले बताउनुभयो ।
‘राम्रो फल्ने, उन्नत जातको धान भनेर हामीले तनहुँको तुरतुरेको एग्रोभेटबाट बीउ किनेर ल्याएका थियौँ’, उहाँले भन्नुभयो, ‘तुरतुरेबाट किनिएको बीउमा धेरथोर बाला लागे पनि चितवनबाट ल्याइएको बीउमा भने बालै लागेन ।’ किसानले प्रतिकिलो ४ सय रुपैयाँमा बीउ किनेर ल्याएका थिए ।
गौंडाबगर गाउँका मात्रै झण्डै ४५ कृषकले गरिमा जातको धान रोपेका थिए । चारकुने फाँटमा पनि झण्डै एक हेक्टर क्षेत्रफलमा लगाइएको गरिमा जातमा बाला नलागेको कृषकले बताएका छन् ।
सामान्यतया अहिले धान काट्ने र थन्क्याउने बेला भए पनि धानमा बाला नलागेको र बाला लागेको खेतमा पनि उत्पादन घटेको भन्दै किसान निराश भएका हुन् ।
पालुङटार–५, बगरफाँटको झण्डै ३ हेक्टर जमिनमा किसानले गरिमा जातको धान लगाएका छन् । त्यसमध्येको झण्डै २८ रोपनी खेतमा भने अहिलेसम्म धान हरियो नै रहेको र बाला नलागेको स्थानीय देउराली आदर्श कृषक समूहका अध्यक्ष निर्मलकुमार श्रेष्ठले बताउनुभयो ।
‘उही बीउ लगाएका कोहीको धान फल्यो, कोहीको बालै लागेन, हामी पनि आश्चर्यमा परेका छौँ’, उहाँले भन्नुभयोे, ‘अन्य जातको धान फले पनि गरिमा जातको धान मात्रै फलेन, त्यसमा पनि चितवनबाट ल्याएको बीउमा बाला पनि लागेन, तुरतुरेको बीउमा चाहिँ अलिअलि फल्यो ।’ श्रेष्ठ अध्यक्ष रहेको कृषक समूहले गत वर्षहरुमा पनि धानको बीउ खरिद गरेर किसानलाई वितरण गर्दै आएको छ ।
यो वर्ष गरिमा जातको हाइब्रिड बीउको चर्चा भएपछि समूहले तनहुँको तुरतुरेको एग्रोभेटबाट बीउ ल्याएको थियो । केही किसानले भने चितवनबाट बीउ ल्याएका थिए । उही जातको भएर पनि चितवनबाट ल्याइएको बीउमा भने बाला लागेको कृषक समूहका अध्यक्ष निर्मलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘बाला लागेको खेतमा पनि धानको उत्पादन भने घट्ने देखिन्छ, यहाँ एक रोपनीमा ९÷१० मुरीसम्म धान फल्थ्यो, अहिले त आधै घट्ला जस्तो छ’, उहाँले भन्नुभयो । दुःख गरेअनुसार फल नपाइएको भन्दै निराश भएका किसानले सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
धान उत्पादन नभएको विषयमा कृषि ज्ञानकेन्द्रलाई पनि जानकारी गराइएको वडा सदस्य संसरी तामाङले बताउनुभयो । ज्ञानकेन्द्रका बाली संरक्षण अधिकृत भवनाथ देवकोटाले उक्त ठाउँको धान खेतीको अध्ययन गरिएको बताउनुभयो । देशैभर गरिमा जातको धानमा फल नलागेपछि प्राविधिक अध्ययन भैरहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।