रसुवागढी नाकाबाट भेडाच्याङ्ग्राको आयात घट्यो

 कात्तिक ९, २०७६ शनिबार ११:३२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – पछिल्लो समय रसुवागढी नाकाबाट भेडाच्याङ्ग्राको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षमा तिब्बतबाट ल्याइने भेडाच्याङ्ग्रा आयात घट्दै गएको व्यापारीले बताएका छन् । 

२०७० साल अघिसम्म वार्षिक पाँच हजारदेखि १० हजारको संख्यामा भेडाच्याङ्ग्रा आयात हुने गरेको व्यापारी दिवाकर न्यौपानले बताउनुभयो । उहाँकाअनुसार भेडाच्याङ्ग्राको मूल्यवृद्धि, सीमामा कडाइ र नेपाल मासुमा आत्मनिर्भर बन्दै गएकाले आयातमा कमी आएको हो । गएको दशैँमा दुई सय ३० ओटा  भेडाच्याङ्ग्रा आयात भएकोमा तिहारमा भने ६० ओटा भेडाच्याङ्गा मात्रै आयात भएको छ । 

२०७० सालमा दुई सय दुई, २०७१ मा एक सय ८०, २०७३ मा दुई सय ५०, २०७४ सालमा ५५ तथा २०७५ मा ४ सय ७० ओटा भेडाच्याङ्ग्रा आयात भएको थियो । 
‘दशैँको तुलनामा तिहारमा भेडाच्याङ्ग्रा कम आयात गर्ने गरेका छौँ’, न्यौपानेले भन्नुभयो, ‘तिहारमा माग कम हुन्छ ।’ 

उहाँले केरुङबाट सुरुमा प्रति भेडाच्याङ्ग्रा सात सय रुपैयाँमा ल्याउनुभएको थियो । अहिले एउटा भेडाच्याङ्ग्राको मूल्य २२ हजार रुपयाँसम्म पर्छ । एक पटकमा एक हजारसम्म भेडाच्याङ्ग्रा आयात गरेको उहाँको भनाइ छ । 

नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडाच्याङ्ग्रा आयात गर्ने गरेका छन् । केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउँछन् । नेपाली व्यापारी भेडाच्याङ्ग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्छन् । आयात गरिएको भेडाच्याङ्ग्रा रसुवामा नै बिक्री गरिन्छ ।  

गएको वर्षभन्दा अहिले बढी मूल्य परेको, गाडीको चाप र झन्झटिलो भएको कारण समस्या भएको उहाँको भनाइ छ । २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया