सिञ्जा सांस्कृतिक पर्यटन महोत्सव: खस भाषा र सभ्यता चिनाउने जमर्काे (तस्बिरसहित )

 कात्तिक १०, २०७६ आइतबार ९:३७:० | नेत्र शाही
unn.prixa.net

जुम्ला - प्रवेशद्वारमा ‘हाम्रा आउनापाउनाकन ओण्छो, पोण्छो छ ’ लेखिएको छ,यसकाे अर्थ हुन्छ ‘हाम्रा पाहुनाहरुलाई हार्दिक स्वागत छ’ ।

स्थानी यपञ्चेबाजा, मागल, झोडा, धाउसीनाच, ढाल नाच, वालोनाच, देउडासहित विभिन्न स्थानीय खस संस्कृति झल्काउने नाचले अहिले सिञ्जा महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको छ ।

खस भाषा र खस सभ्यता पहिचान गर्ने उद्देश्यले सिञ्जाको कनकासुन्दरी गाउँपालिका, लासी पाटनमा भइरहेको सांस्कृतिक तथा पर्यटकीय महोत्सवमा अतिथिका लागि गरिएको अन्य स्वागत पनि उत्तिकै छन् ।

भूजपातको स्वागत द्वार, झुलाको गेट, स्याउको ढोकाले आगन्तुकलाई निकै आकर्षिक गर्‍याे । कार्तिक ८ गतेदेखि सुरु भएको सांस्कृति पर्यटकीय महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको हाे । 

शुक्रवार सिञ्जा उपत्यकामा भएको ‘सिञ्जा सांस्कृतिक पर्यटन महोत्सव’ महोत्सवको उद्घाटन गर्दै मन्त्री पुनले नेपाली भाषाको उद्गमस्थल सिञ्जालाई पूर्वाधार तयार गरी थप ठूलो पर्यटकीय खोज तथा अध्ययनको केन्द्र बनाउन नेपाल सरकारको ध्यानाकर्षण समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खस नेपाली भाषाको उत्पत्ति यसै सिञ्जा उपत्यकाबाट भएको हो ।’

तत्कालीन समयमा खसान, गढवालदेखिको राजा नागराजदेखि मल्लकालीन राजधानीको केन्द्र पनि सिञ्जा भएको उहाँले थप्नुभयो । खसराजा नागराज र सूर्यमल्ल सम्म ३ सय वर्षको राजधानी रहेको भूमिमा आफू आउन पाएकोमा भाग्यमानी भएको उहाँले बताउनुभयो ।

उपराष्ट्रपति पुनले यस अवसरका लागि सिञ्जा तथा कर्णालीवासीलाई धन्यवाद दिनुभयो । 

नेपालीहरु एक पटक सबै सिञ्जा घुमौँ   

उहाँले ‘तपाइँहरु एक पटक सिञ्जा आउनुहोस् र सिञ्जाको भ्रमण गर्नुहोस्’ भन्दै आम नेपालीलाई सिञ्जाबाटै अपिल गर्नुभयो । 

उहाँले भन्नुभयाे, ‘जसरी बौद्ध धर्मीहरु लुम्बिनी भ्रमण गर्छन्  त्यसैगरी सबै नेपाली भाषीहरु एक पटक सिञ्जा आउनुहाेस्, यहाँ आएर अध्ययन गर्नुहाेस् ।’

उपराष्ट्रपति पुनले हामीले आफनै सभ्यता थाहा नपाएको समयमा नेपाली शताब्दीपुरुष सत्यमोहन जोशी कर्णाली प्रदेश र सिञ्जाको अध्ययनगर्न आएपछि नेपालीहरुले सिञ्जाका बारेमा बुझेकाेले उहाँप्रति आभार व्यक्त गर्नुभयाे ।

अब यस्तै सत्य मोहनहरुको यहाँ खाँचो रहेको भन्दै सिञ्जालाई प्रचार गर्ने हिसाबले पछिल्लो पुस्ताले लेख्नुपर्ने उहाँको जोड छ । शताब्दीपुरुष सत्यमोहन जोशीसहित योगी नहरहरिनाथजस्ता विद्धानहरुले सिञ्जाको खोज अनुसन्धान गरेपछि तत्कालीन समयको इतिहास स्थापित भएको उहाँले उल्लेख गर्नुभयाे । 

‘सिञ्जालाई नेपाल र नेपालीहरुको माझमात्रै होइन, संसारसामु चिनाउन केन्द्र सरकारको ध्यानाकर्षण गर्न चाहन्छु’, उहाँले थप्नुभयो, ‘हामीले आफ्नो भाषालाई नै प्राथमिकता दिनुपर्छ, बालबालिकाहरुलाई नेपाली भाषामा प्रथामिकता दिऊँ।’

खुसी र सुखी कर्णाली नै समृद्ध नेपाल

लामो राजनीतिक परिवर्तनमा कर्णालीको ठूलो योगदान रहेको भन्दै उपराष्ट्रपछि पुनले समृद्ध र सुखी कर्णाली भएमात्रै समृद्ध नेपाल सम्भव रहेको भन्दै स्रोत साधनको उच्चतम प्रयोग गरेमा समृद्ध कर्णाली, समृद्ध नेपाल बन्ने बताउनुभयाे ।

विक्रम सम्वत २०७५ वैशाखमा रारा पर्यटन महोत्सवले पर्यटकका लागि कर्णाली चिनाउँदै गरेको भन्दै अहिले जुम्लाको मार्सी काठमाण्डौको गल्ली गल्लीमा पाइन थालेको, जुम्लाको स्याउ, सिमी, कोदो, फापर र जडिबुटी र उनि कपडाकाे पनि ब्राण्डिङ भएको उल्लेख गर्नुभयाे ।

उहाँले नेपाल सरकारले कर्णाली प्रदेशको विकासमा प्राथमिकता दिनुपर्ने भन्दै कर्णाली राजमार्गको विस्तार, १३३ केभी विदुयुत प्रसारणलाइन, जडिबुटी प्रशोधन केन्द्र र पर्यटनलाई प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयाे । साथै कर्णाली प्रतिष्ठानलाई एमडीजीपी पढाउन नेपाल सरकारकाे ध्यानाकर्षण पनि गराउनु भयो । 

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नाग्म गमगडि राजमार्गको कालोपत्रे छिट्टै हुने बताउँदै प्रदेश सरकारले सिञ्जामा संग्रहालय निर्माण गरिरहेको बताउनुभयो । 

महोत्सवको आयोजक कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावतले  सिञ्जालाई प्रचार गर्न सबैलाई अपिल गर्नुभयो ।

महोत्सवमा पुगेका पत्रकार तथा साहित्यकार नवराज लम्सालले अब सिञ्जा र कर्णालीको समाचारको एंगल पत्रकारहरुले बदल्नुपर्ने बताउनुभयो । उहाँले राजनेताहरुले सिञ्जालाई संसारको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया