इस्लामिक स्टेटका नेता बग्दादी मारिएको अमेरिकी दाबी

 कात्तिक १०, २०७६ आइतबार १४:३२:३७ | रासस
unn.prixa.net

फाइल फाेटाे

आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बाकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । विश्वमै सर्वाधिक खोजीको व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएको बताइएको छ । 

एक जना अमेरिकी अधिकारीले एसोसिएटेड प्रेसलाई बग्दादी सिरियाको इड्लिब प्रान्तमा मारिएको बताएका छन् । तर त्याे कारबाहीको विस्तृत विवरण भने प्राप्त भएको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार राति 'आज ठूलै कुरा हुँदैछ' भन्दै ट्वीट गरेका थिए । ह्वाइट हाउसका प्रवक्ता होगान गिड्लीले राष्ट्रपति ट्रम्पले उक्त हवाई कारबाहीका बारेमा आफै वक्तव्य दिन लागेकाे जानकारी दिए ।

उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता भएलगत्तै इस्लामिक स्टेटको प्रभाव बढ्ने अनुमान भइरहेका बेला त्यसै संगठनका प्रमुख नेता मारिएको खबर सार्वजनिक भएको छ । कुनै समय इराक, सिरिया समेतको ठूलो भूभागमा कब्जा जमाउन सफल इस्लामिक स्टेटले पछिल्लो समय पराजय भोगेको थियो ।

अल–बग्दादीले विगत पाँच वर्षदेखि इस्लामिक स्टेटको नेतृत्व गरिरहेका थिए । चरमपन्थी इस्लामिक यस संगठनले घाँटी छिनालेर व्यक्तिको क्रुरतापूर्वक हत्या गर्ने भन्दै बदनाम भएको थियो । इराक र सिरियामा प्रभाव राखेको यस संगठनमा पश्चिमा मुलुकका व्यक्तिसमेत लाखौं मानिस आबद्ध भएका थिए । 

अल–बग्दादीको मृत्यु भइसकेको बताइए पनि उनी पछिल्ला केही वर्षदेखि भूमिगत थिए । कतिपयले उनको मृत्यु भइसकेको दाबी गरिरहेका थिए । यो संगठनका समर्थकहरुले युरोप र अमेरिकी भूभागमा आतंकवादी आक्रमण गरेका थिए । इस्लामिक स्टेटले पछिल्लो समय विमान अपहरण जस्ता ठूला आक्रमणको साटो साना स्तरका आक्रमणहरु गरेर जनजीवन त्रसित बनाउने गरेका थिए ।

अमेरिकाले बग्दादीको टाउकोको मूल्य २ करोड ५० लाख अमेरिकी डलर (झण्डै ३ अर्ब नेपाली रुपैयाँ) तोकेको थियो । पछिल्लो समय गत महिना एउटा अडियो रेकर्ड सार्वजनिक गर्दै आफ्ना लडाकूलाई आफू र आफ्ना परिवारका सदस्यलाई बन्दी जीवनबाट मुक्त गर्न अपिल गरेका थिए । यो उनको गत अप्रिल यताको पहिलो थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया