कालीगण्डकी डाइभर्सन रोक्न प्रदेशसभा अवरुद्ध पार्ने सांसद मल्लको चेतावनी

 कात्तिक १०, २०७६ आइतबार २०:३२:३० | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीको डाइभर्सन रोक्नका लागि सहयोग नगरे आफूहरुले प्रदेश सदन अवरुद्ध पार्ने चेतावनी दिनुभएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर २ मा रहेको.बालहित आधारभूत विद्यालयको नवनिर्मित २ कोठे पक्की भवनको उद्घाटन गर्दै सांसद मल्ले कालीगण्डकी नदी यस क्षेत्रका नागरिकको अस्तित्वसँग जोडिएको भन्दै डाइभर्सनबाट गण्डकीबेसी क्षेत्रको पर्यावरणमा ठूलो असर पर्ने स्पष्ट पार्नुभयो ।

तल्लो तटीय क्षेत्रअन्तर्गतका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका स्थानीय तहले नदीको पानीलाई थुनेर अन्यत्र लैजाने प्रयासलाई रोक्न त्यस क्षेत्रका स्थानीय तहले एकताबद्ध भएर अगाडि बढ्ने अभियानमा जुट्न थालेका छन् ।

पाल्पा र स्याङ्जाको सिमानास्थित राम्दीमा डाइभर्सन गरेर कालीगण्डकीको पानी तिनाउ नदीमा पोखिने योजनाप्रति कालीगण्डकी उपत्यकाका स्थानीयवासी सन्तुष्ट छैनन् ।

प्रदेश सरकारलाई विकास निर्माणका कार्यमा केन्द्रित बनाउन आफूहरु लागि परेको भन्दै मल्ले भन्नुभयो, ‘कांग्रेसको ध्यान विकास निमार्णमा रहेको छ ।’ त्यस अवसरमा सांसद मल्ले बालहित आधारभूत विद्यालयको शैक्षिक गुणस्तरका अभिवृद्धिका लागि आर्थिक सहयोग स्वरुप आफ्नो पारिश्रमिकबाट ७१ हजार रुपैयाँ समेत प्रदान गर्नुभयो ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय स्याङ्जाको १२ लाख ५० हजार अनुदान र बाँकी जन श्रमदान गरी कुल १९ लाखको लागतमा विद्यालय भवन निर्माण भएको विद्यालयले जनाएको छ ।

कक्षा नर्सरीदेखि ५ सम्म अध्ययन हुने यस विद्यालयमा नयाँ भवन निर्माणबाट कक्षा कोठा अभावको समस्या समाधान भएको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया