अब ट्विटरमा राजनीतिक प्रचार गर्न नपाइने, ट्रम्पको चुनावी अभियान प्रभावित हुने

 कात्तिक १४, २०७६ बिहिबार ११:१४:५६ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जाल ट्विटरले राजनीतिक प्रचारलाई प्रतिबन्ध लगाउने भएको छ । राजनीतिक सम्मान किन्नेभन्दा कमाउनुपर्ने विषय भएको भन्दै ट्विटरले आउँदो नोभेम्बर २२ देखि राजनीतिक प्रचारमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

ट्विटरका प्रमख प्रशासकीय अधिकृत ज्याक डोर्सीले व्यवसायिक प्रयोजनका लागि इन्टरनेटका माध्यमबाट गरिने प्रचार अति शक्तिशाली र प्रभावकारी भए पनि यस्तो खालको शक्ति र प्रभावले राजनीतिमा गम्भीर चुनौती ल्याउने बताएका छन् । ट्विटरले यससम्बन्धी थप विवरण नोभेम्बर १५ सम्ममा जारी गर्ने पनि उल्लेख गरेको छ । 

ट्विटरको यो निर्णयले अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि प्रचार अभियानलाई विभाजित गरेको छ । यो निर्णय राष्ट्रपति ट्रम्प र कन्जर्भेटिभ पार्टीलाई चुनावको प्रचार गर्न चुप लगाउने प्रयास स्वरुप रहेको ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्केलले आरोप लगाएको बीबीसीले जनाएको छ ।

तर डेमाेक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि रहेका जो बाइडेन पक्षले भने प्रजातन्त्रको रक्षाका लागि यो राम्रो निर्णय रहेको प्रतिक्रिया दिएका छन् । 

यद्यपि सामाजिक सञ्जाल फेसबुकले भने भर्खरै मात्र राजनीतिक विज्ञापनको प्रचारमाथिको प्रतिबन्ध हटाएको थियो । 

फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने आफ्नो कम्पनीको नियमको बचाउ गर्दै भनेका छन्, ‘प्रजातन्त्रमा निजी कम्पनीहरुले राजनीतिज्ञ र समाचारलाई प्रतिबन्ध लगाउनु उचित हुँदैन ।’

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया