सातै प्रदेशका प्रमुख नियुक्त गर्ने तयारी

 कात्तिक १८, २०७६ सोमबार १२:१५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले सोमबार सातै प्रदेशका प्रमुखहरु नियुक्त गर्ने तयारी गरेको छ । सत्तारुढ नेकपाको सचिवालय बैठकपछि बस्ने मन्त्रिपरिषद बैठकले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गर्ने तयारी गरेको हो ।

नाम टुंगो लगाउन अहिले नेकपाको सचिवालय बैठक बसिरहेको छ । सचिवालय बैठकले नाम टुंगो लगाएपछि सोमबार नै मन्त्रिपरिषद् बैठक बसेर अनुमोदन गर्ने तयारी छ । 

यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलेसातै प्रदेशका प्रमुख पदमुक्त गर्नुभएको हो ।   

सत्तारुढ दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र छलफल गरेरै मन्त्रिपरिषद्बाट नयाँ नाम अनुमोदन गर्न लाग्नुभएको स्रोतले जनाएको छ । मन्त्रिपरिषद्ले सोमबार नै नाम सिफारिस गरेर नियुक्तिका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी गरेको छ ।  

तत्कालीन कांग्रेस सरकारले २०७४ माघ ३ गते राष्ट्रिय जनता पार्टी र तत्कालीन समाजवादी फोरमसँगको भागबण्डामा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।भागबन्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख नियुक्त भएका थिए । 

तत्कालीन एमाले र माओवादी केन्द्रले भने कामचलाउ सरकारले प्रदेश प्रमुख नियुक्त गर्न नहुने भन्दै विरोध गरेका थिए । अहिले दुबै पार्टी एकीकरण भएको र बहुमतका साथ सरकार सञ्चालन गरिरहेको नेकपाले तत्कालीन कांग्रेसले नियुक्त गरेको प्रदेश प्रमुख बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गर्न लागेको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया