ढकाललाई उम्मेदवार बनाएको विरोधमा नेकपा कार्यालयमा तालाबन्दी

 कात्तिक १८, २०७६ सोमबार १४:२२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – आउँदो मंसिर १४ गते हुने उपचुनावमा भक्तपुर क्षेत्र नम्बर १ (क) का लागि पार्टीले घोषणा गरेको उम्मेदवारविरुद्ध स्थानीय नेता र कार्यकर्ताले विरोध जनाएका छन् । 

पार्टीको सचिवालय बैठकले आइतबार भक्तपुर क्षेत्र नम्बर १ (क) को प्रदेश सभा उम्मेदवारमा देवीप्रसाद अर्थात डीपी ढकाललाई उठाउने निर्णय गरेको थियो । पार्टी सचिवालयको निर्णयको विरोध गर्दै नेकपा भक्तपुर जिल्ला सदस्यहरुसहितका नेता तथा कार्यकताले सूर्यविनायकमा रहेको पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।    

चुनाव जित्नेलाई टिकट दिनुपर्नेमा नजित्नेलाई टिकट दिएको भन्दै उनीहरुले सचिवालयको विरोधमा पार्टी कार्यालयमा नै तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्न नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु पुगेका थिए । 

तालाबन्दीपछि पार्टी जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले पार्टी ‘हाइ कमाण्ड’ले गरेको यो निर्णय नसच्याएसम्म पार्टी कार्यालयमा तालाबन्दी जारी रहने र उम्मेदवारलाई सहयोग पनि नगर्ने बताउनुभयो । टोलीले पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति नै टाँसेर दुइटै ढोकामा तालाबन्दी गरेका हुन् ।  

पार्टीका जिल्ला कमिटी सदस्य साधुराम दाहालले पनि उपचुनावमा सहजरुपमा जित्ने नेतालाई टिकट दिनुपर्ने माग गर्दै तालाबन्दी गरिएको बताउनुभयो ।

उहाँले गएको चुनावमा तत्कालीन माओवादीबाट उम्मेदवार भइ सात सय ८४ मत मात्र ल्याएका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जित सुनिश्चित नहुने दाबी गर्नुभयो ।  

पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने उहाँले बताउनुभयो । नेकपा भक्तपुर जिल्लाले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी दंगालको नाम सिफारिस गरेको थियो ।

गएको चुनावमा विजयी हुनुभएका हरिशरण लामिछानेको मस्तिष्कघातबाट निधन भएपछि यो प्रदेश सभा रिक्त छ । 

लामिछाने तत्कालीन एमाले र माओवादी केन्द्रको तालमेलमा वाम गठबन्धनको आधिकारी उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएर विजयी हुनुभएको थियो ।त्यो बेला वाम गठबन्धनको आधिकारिक उम्मेदवारमा पनि देवीप्रसाद अर्थात डीपी ढकाललाई नै उठाइएको थियो । लामिछाने १२ हजार सात सय ८९ मत ल्याएर विजयी हुँदा वाम गठबन्धनको आधिकारिक उम्मेदवार रहँदा पनि ढकालले सात सय ८४ मत मात्र ल्याउनुभएको थियो । 

लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौ सय ७४ मत ल्याउनुभएको थियो भने सात हजार १९ मत ल्याएर नेमकिपाका निरज लवजू तेस्रो स्थानमै रहनुभएको थियो ।  

अहिले नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले ढकाललाई उम्मेदवार बनाउँदा फेरि पनि पार्टीले त्यो ठाउँमा जित हात पार्न नसक्ने बताउँदै आएका छन् । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया