प्रदेश नम्बर ५ को केन्द्र दाङ बन्छ : अध्यक्ष दाहाल

 कात्तिक २०, २०७६ बुधबार ११:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो । 

प्रेस सङ्गठनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले राजनैतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भैरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गर्नुभयो । 

अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई सामान्य भएको बताउनुभयो । ‘सरकारले लचिलो भएर मात्रै उहाँहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।’

उहाँले उपचुनाव सफल बनाउन नेता÷कार्यकर्तालाई अनुरोध गर्न आफू दाङ आइपुगेको बताउनुभयो । ‘सरकार यतिबेला उपचुनावमा केन्द्रित छ’, उहाँले भन्नुभयो, ‘सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’ नेकपा दाङले बुधबार तुलसीपुरमा आयोजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ दाङ आइपुग्नुभएको हो ।   

नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार प्रचण्डसँगै पूर्वसभामुख एवं पार्टीकी नेतृ ओनसरी घर्ती, पार्टी प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल पनि दाङ आइपुग्नुभएको छ । 

नेकपाले पार्टी एकतापछि अध्यक्षको सहभागितामा पहिलो पटक दाङमा बृहत् कार्यकर्ता प्रशिक्षण आयोजना गर्नलागेको हो । प्रशिक्षण कार्यक्रम पार्टी एकता, पार्टीको नीति, विचार, आसन्न उपचुनाव लगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया