नेपाली भूभाग भारतले नक्सामा समेटेपछि अनेरास्ववियूले भन्यो- ब्याक अफ् इण्डिया

 कात्तिक २०, २०७६ बुधबार १६:१९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको झण्डै ३ सय ७२ किलाेमिटरभन्दा धेरै जमिन समावेश गरिएको छ ।

दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । साथै उनीहरुले यथाशीघ्र नेपाल सरकारको धारणा माग गरिरहेका छन् । 

यसकै विरोधमा सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले र्‍याली निकालेको छ । र्‍यालीमा उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन् । 

अनेरास्ववियुका अध्यक्ष ऐन महरले यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्च्याइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने बताउनुभयाे । साथै उहाँले नेपाली भूमिको रक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

प्रदर्शनी मार्गबाट सुरु भएको र्‍याली बागबजार हुँदै शान्तिवाटिकामा गएर कोणसभामा परिणत भएकाे थियाे ।  

यसअघि पनि यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै पटक पटक नेपाली पक्षले विरोध जनाउँदै आएका छन् । ‘लिपुलेक हाम्रै हो’ भन्दै तत्कालीन एमाले सम्बद्ध विद्यार्थी संगठनले लिपुलेक पुगेर नै नेपाली झण्डा फहराएका थिए । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको प्रति विरोध जनाएका छन् । नेपाली भूभाग भारतीय नक्सामा समेटिएकोमा आपत्ति जनाउँदै राप्रपाले प्रधानमन्त्रीसँग तत्काल कुटनीतिक रुपमा समस्याको सम्बोधन गर्न माग गरेको छ ।

नेपाल सरकारले भने सीमा मिचिएको भन्ने सम्बन्धमा भारतको आधिकारिक नक्सा मगाएर अध्ययन भएको र चाँडै नै सरकारको तर्फबाट निर्णय आउने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया