भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्वीकार्य हुँदैन: डा. राजन भट्टराई

 कात्तिक २०, २०७६ बुधबार १७:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भारतीय नक्सामा नेपाली भूभाग समेटिएको हो भने सरकारलाई स्वीकार्य नहुने बताउनु भएको छ । 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले विभिन्न समाचार माध्यममा भारतीय नक्सामा नेपालको कालापानीलगायतका भूभाग समेटिएको समाचार आएको उल्लेख गर्दै त्यसमा सत्यता भए सरकारलाई स्वीकार्य नहुने चेतावनी दिनुभएको हो ।

बुधबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले तर त्यसका बारेमा सरकारले अध्ययन गरिरहेको र त्यसको निष्कर्ष नआइ भारतीय नक्सामा नेपाली भूभाग समेटिएको भन्न नमिल्ने बताउनुभयाे।

‘हाम्रो भूभाग उहाँहरुले नक्सामा पार्नुभएको हो भने त्यो बेठिक हो,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भन्नुभयो,‘त्यो हामीलाई स्वीकार्य हुँदैन ।’ उहाँले त्यसबारेमा अध्ययन नगरी भारतले हस्तक्षेप गरिहाल्यो भनेर निष्कर्ष निकाल्न भने सरकारले नमिल्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक तथ्यले पुष्टि गरिसकेकाले त्यसमा सरकारले कुनै पनि हालतमा तलमाथि हुन नदिने दृढता पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया